जनकपुरधाम, १२ फागुन । जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन् । रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन् ।
भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेको र आफूहरुले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई पठाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
तर दूतावासले उद्घाटनको मितिको प्रस्ताव नेपाल सरकारबाट आउनुपर्ने बताइरहेका छन् । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उद्घाटनको मिति तय गर्न ढिलाइ भइरहेको महाप्रवन्धक झाको कथन छ ।
उनकाअनुसार उद्घाटनको ढिलाईका कारण मात्र रेल चलाउन समस्या भएको छ । रेल सेवा उद्घाटन नभएसम्म नियमित बिना यात्रु (ड्राई सेवा) भने गत फागुन १ गतेदेखि सञ्चालन हुँदै आएको छ । अहिले बिना यात्रु दैनिक जयनगरदेखि कुर्था र कुर्थाबाट पुनः जयनगर रेल सेवा सञ्चालन भइरहेको छ ।
नियमित रेल चलाउन रेल्वे लिक कब्जा गरिएका ठाउँ खाली गराइएको छ भने हाटबजार लिकमा लगाउन बन्द गराइएको छ । अनुमति बिना रेल्वे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी काममा खटिएको छ ।
सञ्चालनका लागि दुबै रेलको इन्जिन र बोगी एउटैमा जोडिएको छ । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो । रेल चलेपछि हालका लागि ६० जना नेपाली र १४ जना भारतीय कर्मचारी काममा खटिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुङ्गो लागेको छ । जसमा १४ जना भारतीय कर्मचारी आइसकेको र बाँकी उद्घाटनपछि आउने महाप्रबन्धक झाले बताए ।
रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन एक पटक आउने र जाने गरी रेल चलाउने र त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा २÷३ पटक सम्म पनि रेल चलाउन सकिने तयारी गरेको महाप्रबन्धक झाले बताए ।
भारत सरकारको आठ अर्ब ७७ करोड (नेपाली रुपैयाँ) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेल मार्गमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेसनबाट ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।
रेलमा एक हजार २०० देखि एक हजार ३०० यात्रुसम्म बसेर/उभिएर यात्रा गर्न सक्छन् । यात्रुबाहक रेल भएकाले यसमा यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।
नेपालमा राणाकालमा वि.सं. १९९४ सम्म जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालमा प्राविधिक कारणले बन्द भएको थियो । झण्डै एघार वर्षपछि वर्तमान सरकारले रेल सेवा सुरु गर्न लागेको बताइएको छ ।
तपाईको प्रतिक्रिया