जनकपुरधाम, १३ फागुन । मधेश प्रदेशमा एक वर्षमा भएको मानवअधिकार उल्लंघन र ज्यादतीको घटनामा सात सय जनाभन्दा बढी व्यक्ति पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जनकपुरधाममा मानवअवधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको छ । जसअनुसार २०७७ पुस १७ गते देखि २०७८ पुस १६ गतेसम्म ७ सय ५८ जना पीडित भएका छन् ।
इन्सेकका अनुसार २०२१ मा मधेश प्रदेशको सिरहा जिल्लामा सबैभन्दा बढी मानवअधिकार उल्लंघनको घटनामा व्यक्ति पीडित बनेका छन् । सिरहामा अन्य पक्षबाट १३१ जना पीडित बनेका छन् भने राज्य पक्षबाट ५ जना पीडित बनेका छन् ।
त्यस्तै, धनुषामा १११ जना अन्य पक्षबाट पीडित बनेका छन् भने १८ जना राज्य पक्षबाट पीडित भएका छन् । सर्लाहीमा अन्य पक्षबाट ६६ जना र राज्य पक्षबाट ४० जना, सप्तरीमा अन्य पक्षबाट ८९ र राज्य पक्षबाट ७, रौतहटमा अन्य पक्षबाट ८५ र राज्य पक्षबाट ६ जना पीडित बनेका छन् ।
त्यस्तै, पर्सामा अन्य पक्षबाट ८० र राज्य पक्षबाट १ जना पीडित बनेका छन् भने महोत्तरीमा अन्य पक्षबाट ४५ र राज्य पक्षबाट एक जना पीडित बनेका छन् ।
इन्सेकको मानवअधिकार वर्ष पुस्तक २०२२ अनुसार २०२१ मा बलात्कारको २ सय ३४ वटा घटना भएका छन् । बलात्कारको घटनामा सबैभन्दा बढी बालबालिका पीडित बनेका छन् ।
एक वर्षमा बालअधिकारको घटनातर्फ १५६ जना बालिका बलात्कृत भएका छन् भने महिला अधिकारतर्फ ७८ जना बलात्कृत भएका छन् । इन्सेकको तथ्यांकअनुसार मधेस प्रदेशमा एक वर्षमा ५ जनाको कारागारमा मृत्यु भएको छ । त्यस्तै, ७३ जनाको हत्या भएको छ ।
मधेस प्रदेशको विभिन्न स्थानमा ५ वटा कारागार रहेकामा कारागारको क्षमताभन्दा दोेब्बर कैदी छन् । विभिन्न पाँच जिल्लाको कारागारको कुल क्षमता १५६० रहेकोमा ३ हजार २३८ जना कैदी छन् । त्यस्तै, ११ जना आश्रित बालबालिका रहेको इन्सेकको तथ्यांक छ ।
सप्तरीको कारागारको क्षमता १२५ रहेकामा यहाँ ३७० कैदी छन् । त्यस्तै, सिरहाको १५० क्षमता रहेकामा ६४६, महोत्तरीको १३५ क्षमता रहेकामा ५६१, रौतहटको क्षमता १५० रहेकामा ३५७ र पर्साको क्षमता १ हजार रहेकामा यहाँ १ हजार ३०४ जना कैदी छन् ।
तपाईको प्रतिक्रिया