देशकै पहिलो आईओपीमा चार पूर्वाधार थपिदैं

समाचार

वीरगञ्ज, १३ फागुन । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) मा पूर्वाधारहरुको निर्माण हुने क्रम जारी रहेको छ । देशकै पहिलो यो आईसीपी २०७४ चैत २४ देखि सञ्चालनमा आएको हो ।

त्यसयता ९ वटा ठूला पूर्वाधार थप भएको छ । थप ४ वटा पूर्वाधार निर्माण हुने क्रममा छन् ।

४ वर्षयता आईओपी परिसरमा १ हजार १ सय ४५ वर्गमिटरको गोदाम, ३ सयदेखि ३ सय ५० सम्म मालवाहक ट्रक अट्ने क्षमता भएको पार्किङ, ४ सय ५० वर्गमिटरको खुल्ला सेड निर्माण भएको छ । त्यसैगरी, क्वारेन्टाइन, डोरमेटिक र कस्टम क्लियरिङ भवनमा १÷१ तल्ला थप, कर्भस्टोन, ३ किचेन सेड, सेक्युरिटी ब्यारेक र गेटहाउस निर्माण भएका छन् ।

दुई सयदेखि ३ सयसम्म कार अट्ने क्षमता भएको अर्को पार्किङस्थल, नेपाल गेटदेखि पदम रोडसम्म १ किमि सडक विस्तार गरिँदै छ ।

हाल पदम रोडबाट चौकीको मूल गेटसम्म आएको सडक साँघुरो महसुस गरिएकाले सडकलाई पूर्वतर्फ ७ मिटरको दरले विस्तार गर्न लागिएको हो । यसबाहेक सेन्ट्री बस्ने ४ वटा हाई सेक्युरिटी पोस्ट, नयाँ पार्किङस्थलको खुल्ला सेडसमेत निर्माण हुने भएको छ ।

हालसम्म निर्माण भइसकेका थप पूर्वाधारमा मात्रै करिब ३० देखि ४० करोड रुपैयाँ लगानी भइसकेको छ । भारत सरकारले नेपाल र सीमापारि भारतीय भूमिमा एकैखाले संरचना भएको एकीकृत सुरक्षा जाँच चौकी निर्माण गरेको थियो ।

एकै छानामुनि भन्सार, आप्रवासन, क्वारेन्टिन, सीमा सुरक्षाजस्ता संस्था आउनाले मानवीय तथा मालसामानको अन्तर्देशीय आवतजावतलाई झन्झटरहित बनाउने प्रयासस्वरूप भारतले नेपाल र आफ्नो भूमिमा समेत गरी आईसीपी निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ