जनकपुरधाम, १३ फागुन । मधेश प्रदेश सरकारले कुनै पनि वर्षमा आफ्नो बजेट खर्च गर्न सकेको छैन । मधेश सरकारले साढे तीन वर्षको अवधिमा ५९ अर्ब ५४ करोड ७३ लाख ३० हजार खर्च गरेको छ भने यस अवधिमा प्रदेश सरकारको आन्तरिक आय, राजस्व र नेपाल सरकारबाट गरी कुल ८९ अर्ब १५ करोड ३३ लाख ८१ हजार ८६६ को आय गरेको छ ।
०७५/७६ मा २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार, ०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार, ०७७/७८ मा ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र ०७८/७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ तर कुनै वर्षमा पनि बजेट पूर्ण रूपले खर्च हुन सकेको छैन ।
मधेश सरकारले ०७५/७६ मा १५ अर्ब ९ करोड २३ लाख ७४ हजार, ०७६/७७ मा १८ अर्ब १ करोड ७१ लख ९२ हजार, ०७७/७८ मा २२ अर्ब ७६ करोड ५३ लाख ६३ हजार र ०७८/७९ को ६ महिनामा ३ अर्ब ६७ करोड २४ लाख १ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
मधेश सरकार गठनपश्चात् पहिलो पटक ०७४/७५ को चैतदेखि असारसम्मका लागि संघ सरकारबाट प्राप्त अनुदानलाई बजेटको रुपमा प्रदेशसभामा पेस गरिएको थियो । त्यसपछि आर्थिक वर्षमा प्रदेश सरकारले बजेट ल्याए पनि पूर्णरूपले खर्च गर्न सकेका छैनन् ।
२०७५/७६ देखि ०७८/७९ सम्म पुँजीगततर्फ ७० अर्ब ६१ करोड ३१ लख ६३ हजार रुपैयाँ विनियोजन गरेकोमा तीन आर्थिक वर्ष र चालु वर्षको ६ महिनामा ३२ अर्ब ५७ लाख ९० हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
चालुतर्फ भने ६४ अर्ब ७९ करोड १८ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेकोमा २७ अर्ब ५४ करोड १५ लाख ४० हजार रुपैयाँ खर्च गर्न सकेको छ ।
सरकारले आफ्नो स्थापनापछि ०७५/७६ देखि ०७८/७९ को ६ महिनासम्म ८९ अर्बभन्दा बढीको आय गरेको छ ।
प्रदेश स्थापनाको चार वर्षको अवसरमा सार्वजनिक गरेको उपलब्धि पुस्तकअनुसार ०७५/७६ देखि चालु वर्षको ६ महिनासम्म ८९ अर्ब १५ करोड ३३ लाख ८१ हजार ८६६ को आय गरेको छ । सरकारको कुल आयमध्ये सबैभन्दा बढी नेपाल सरकारबाट प्राप्त गरेको अनुदान हो ।
मधेश सरकारले ०७५/७६ देखि २०७८/७९ सम्म नेपाल सरकारबाट अनुदान बापत ५२ अर्ब ४३ करोड ४० लाख ३ हजार ३५१, बाँडफाँडबाट प्राप्त राजस्व २६ अर्ब ५० करोड ९२ लाख ९४ हजार ६३६ र प्रदेश सरकारको आन्तरिक आयबाट १० अर्ब २१ करोड ६३ हजार ८७८ रुपैयाँ प्राप्त भएको छ ।
२०७५/७६ मा २३ अर्ब ३२ करोड ७० लाख ६२ हजार, ०७६/७७ मा २३ अर्ब ६० करोड ६१ लाख ९५१, ०७७/७८ मा २७ अर्ब १ करोड २७ लाख २१ हजार र वर्षको ६ महिनामा मधेस सरकारलाई १५ अर्ब २० करोड ७४ लाख ९७ हजार ९१५ रुपैयाँ आय भएको मधेस सरकारको चार वर्षको उपलब्धि पुस्तकमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया