काठमाडौं, १३ फागुन । नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त संयन्त्र (जेएससी) को नवौं बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
बिहीबार र शुक्रबार दुई दिन बसेको बैठकमा नेपालका थप आयोजनाहरुको बिजुली किन्न भारत सहमत भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतकाअनुसार भारतको बंगाल राज्यसँग नेपालको विद्युत् कनेक्टिभिटीका लागि १३२ केभी प्रसारण लाइन बनाउन संयुक्त कार्यदल बनाएर अध्ययन गरिने छ ।
त्यस्तै, नेपाल र भारतबीच संयुक्त लगानीमा जलविद्युत् आयोजना बनाउनका लागि अध्ययन कार्यदल गठन गरिने छ ।
न्यू बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन बनाउन दुई महिनाभित्र संयुक्त कम्पनी खोलिसक्ने सहमति भएको पनि सहसचिव चटौतले जानकारी दिए ।
नेपालले प्रस्ताव गरेका माथिल्लो तामाकोसी, कालीगण्डकी, मर्स्याङ्दी, मध्यमस्र्याङ्दी, माथिल्लो भोटेकोसी र चमेलिया जलविद्युत् आयोजनाको बिजुली पनि भारतले किन्ने सहमति भएको छ ।
त्यस्तै, नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनबाट ६ सय मेगवाट बिजुली प्रवाह गर्न जेएससी बैठकबाट सहमति जनाइएको छ ।
यो प्रसारण लाइनको क्षमता थप्न सबस्टेसनलगायत पूर्वाधारहरु बनाउने काम सन् २०२३ भित्र सकिसक्ने पनि सहमति भएको चटौतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया