जीटुजीमार्फत् मल आपूर्ति गर्ने नेपाल र भारतबीच समझदारी

समाचार

काठमाडौं, १६ फागुन । जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मल आपूर्तिका लागि नेपाल र भारत सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच सोमबार एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सो समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा आयोजित एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवम् समझदारी पत्रको आदानप्रदान भएको हो ।

सो समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो ।

हस्ताक्षर समारोहमा बोल्दै सचिव राजेश कुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गरेका थिए ।

साथै उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु¥याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरे ।

दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो समझदारी पत्र भारत र नेपालबीचको द्विपक्षीय आर्थिक सहकार्यमा अर्को कोशेढुंगाको रुपमा रहको छ भने यसले भारतले नेपाललाई दिएको प्राथमिकतालाई पनि प्रतिबिम्बित गरेको भारतीय राजदूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ