सर्लाही, १९ फागुन । दुई पक्षबीच विवाद बढेपछि नेपाली काँग्रेस सर्लाहीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । क्षेत्र ४ अन्तर्गत बलरा नगरपालिकाको दुईवटा वडाबीच अधिवेशनलाई लिएर विवाद हुँदा जिल्ला अधिवेशन नै प्रभावित बनेको हो ।
बलरा नगरपालिका ९ अचलगढ र वडा ८ गडहीयामा हालसम्म वडा अधिवेशन हुन नसकेको काँग्रेस सर्लाहीले जनाएको छ । अचलगढमा मङ्सिर १२ गते वडा अधिवेशन गराउने क्रममा दुई पक्षबीच विवाद भएपछि गोली चलेको थियो ।
त्यसबेला काँग्रेसको दुई समूहबीच झडपको स्थिति सिर्जना भएपछि वडा अधिवेशनस्थलमा पुगेका प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहको अङ्गरक्षकले गोली चलाएका थिए ।
त्यस्तै, गडहीयामा पनि मङ्सिर १३ गते वडा अधिवेशन गराउन खोज्दा दुई पक्षबीच विवाद भई झडप नै भएको थियो । सो झडपमा परेर मतदान अधिकृत उमेशचन्द्र झासहित चार प्रहरी र केही पार्टी कार्यकर्ता घाइते भएका थिए ।
तीन महिनाअघि भएको झडपपछि बलराको ती दुई वडामा काँग्रेसले वडा अधिवेशन गराउनै सकेको छैन् । यसअघि यी दुईवटा वडाको अधिवेशन थाती राखेर प्रदेश निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन गराइएको थियो ।
जिल्लामा अझै बलरा नगरपालिकाको दुईवटा वडाको वडा अधिवेशन, २० वटा पालिकाको पालिका अधिवेशन र जिल्ला अधिवेशन हुन बाँकी छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही काँग्रेसको जिल्ला अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वर सिंहले बलराको दुईवटा वडाको अधिवेशन गराउन दुवै समूहबीच सहमति जुटाउने प्रयास गरिरहेको बताए ।
तपाईको प्रतिक्रिया