वीरगञ्ज, १९ फागुन । नेपालको आर्थिक नगरी रुपमा स्थापित पर्साको वीरगञ्ज महानगरपालिकाले, गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’ सञ्चालन गर्दै आएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने प्रवेशद्वारका रुपमा रहेको महानगरपालिकामा सञ्चालन हुँदै आएको उक्त अभियान’ले नगरवासीलाई खुसी बनाएको छ ।
अभियानअन्तर्गत पालिकाभित्रका सबै सहरी क्षेत्रदेखि गाउँ क्षेत्रका हरेक सडकमा बिजुली बत्ती जडान गर्ने अभियानलाई निरन्तरता दिँदै आएकाले नगरवासीमा खुसियाली छाएको हो ।
ग्रामीण भेगका विभिन्न वडालाई उज्यालो बनाउन राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा बहुवर्षीय परियोजनाका रुपमा उक्त अभियान सञ्चालन हुँदै आएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।
एकसय ३२ दशमलव एक वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको महानगरपालिकाको ३२ वटै वडाका सबै सडक तथा गल्लीमा एलइडीलाइट र चोक–चोकमा टावरलाइट जडान भएपछि रातिको समय आवतजावतमा सहज हुनाका साथै चोरीलगायत अन्य आपराधिक गतिविधि न्यून भएको वडा नं २१ विन्दवासनी निवासी मनुकुमार यादवले बताए ।
अभियानले नगरवासीलाई बेलुकाको समयमा व्यापार व्यवसाय गर्न सहज भएको व्यवसायीहरुको भनाइ छ । सोह्र वटा वडा नगर क्षेत्र र १६ वटा वडा ग्रामीण क्षेत्र रहेको महानगरपालिकाको सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन राष्ट्रिय योजना आयोगको ५० प्रतिशत समपूरक अनुदान प्राप्त भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डलेले जानकारी दिए ।
महानगरभित्र ४० वटाको तीन हजार ९४३ वटा, ६० वटाको सात हजार २०६ वटा र १०० वटाको दुई हजार २४१ वटा एलइडिलाइट जडान गर्न २३ करोड ९६ लाख २४ हजारमा ठेक्का सम्झौता भएकामा हालसम्म ५० प्रतिशतभन्दा बढी बत्ती जडान भइसकेको अधिकृत पाण्डेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया