जनकपुरधाम, १९ फागुन । नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ ।
केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन, त्यस्तो विवाह कानूनीरुपमा स्वतःबदर हुन्छ र दण्डितसमेत हुने कुरा अधिकांशलाई थाहा नहुँदा सानै उमेरमा विवाह गराई दिनेक्रम बढेको हो ।
बालविवाह हुनेक्रम बढेपछि धनुषा प्रहरीले बालविवाह रोक्न विशेष अभियान नै चलाएको छ । अभियानअन्तर्गत विगत डेढ महिनाको अवधिमा धनुषामा नौ वटा बालविवाह रोकाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
कोही जानीजानी वा कोही नजानी छोराछोरीको विवाह गराउने प्रवृत्ति ह्वातै बढेपछि बालविवाह रोक्नका लागि अभियान नै चलाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । अभिभावलाई बालविवाह कानूनीरुपमा अपराध भएको र बालविवाह गराए कानूनी कारवाही हुनेबारेमा जनचेतनामूलक कार्यक्रमसँगै बालविवाह रोक्ने अभियान चलाउँदै आएको उनको भनाइ छ ।
गत माघ महिनायता जिल्लाभरि नौ वटा बालविवाह रोकाइएको उनले बताए । ‘बालविवाह हुँदैछ भन्ने जानकारी पाएपछि हामी त्यहाँ पुग्छौँ’, उनले भने, ‘बास्तवमै उमेर नपुगेर विवाह भइरहेको पाइएपछि अभिभावक, न्यायिक समिति, नागरिक समाजलगायतका व्यक्तिको समन्वयमा बालविवाह रोकाइरहेका छौँ ।’
प्रहरीले बालविवाह रोकाउँदा कतिपय अभिभावकले त्यसलाई सहजरुपमै लिने गरिए पनि अधिकांशले निराशा र चिन्ता नै व्यक्त गर्ने गरेका छन् ।
‘नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज गरेको भए पनि अझै बालविवाह हुँदै आएको छ’, बुद्धिजीवी तथा दलित अगुवा सिजेन्द्र सदाले भने, ‘उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाइने, केटा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति मौलाएको छ ।’
‘बालविवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने कुप्रभावका विषयमा अभिभावक र बालबालिकाबीच सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएका छौं’, दलित अगुवा सदाले भने, ‘बालविवाह न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिएपनि यसको अन्त्य भएको छैन् ।’
मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नु÷गराउनु हुँदैन, गराएमा त्यस्तो विवाह स्वतःबदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको अधिवक्ता डोमन साहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया