एउटा समाचार आएको छ, वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान–प्रदान गर्न नेपाल र भारतका अधिकारीबीचम समन्वयात्मक बैठक भएको छ । भारतको वाल्मीकि टाइगर रिजर्बको मङ्गुराहमा उक्त बैठक बसेको हो ।
नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज र भारततर्फ वाल्मीकि टाइगर रिजर्बले संयुक्त रूपमा सो बैठकको संयोजन गरेका थिए । बैठकमा वन्यजन्तु आवतजावतमा आवश्यक व्यवस्थापनका विषय, मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण र चोरीशिकारका विषयमा सूचना आदानप्रदान, आपसी सहयोगमा अभिवृद्धि जस्ता विषयमा छलफल भएको छ । वन र वन्यजन्तु संरक्षणका क्रममा सीमा क्षेत्रमा कुनै समस्या आइपरेमा तत्काल सम्बन्धित अधिकारीका बीचमा छलफल गरेर समाधान गर्ने विषयमा वृहत छलफल भएको छ ।
वन्यजन्तुको वासस्थानमा निर्माण गरिएका भौतिक संरचना वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको स्वतन्त्र विचरणमा अवरोध पुगेको छ । त्यस्ता ठाउँमा अन्डरपास र ओभरपासजस्ता वन्यजन्तुमैत्री पूर्वाधार नहुँदा विगत पाँच वर्षको अवधिमा सडक दुर्घटनाबाट बर्सेनि औषत १२३ वटा वन्यजन्तु मरेको राष्ट्रिय निकुञ्ज विभागको अभिलेख छ ।
निकुञ्ज क्षेत्रभित्र पर्ने सडक खण्डमा सबारी चाप बढ्दै गएकाले दिउँसोको समयमा वन्यजन्तु ओहोरदोहोर गर्न कठिन हुने गरेको छ । अहिले चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने कसरा वनकट्टा हुलाकी सडक खण्डमा दैनिक औषत ७२० वटा सवारीसाधन ओहोरदोहोर गर्ने गर्दछन् ।
यसबाट वन्यजन्तुको वासस्थान टुक्रिएको छ र तिनको स्वतन्त्र विचरणमा बाधा पुगेको छ । जीविकोपार्जनका अवसर कम भएका स्थानीय वासिन्दा निकुञ्ज क्षेत्रभित्र पस्ने हुँदा बाघ, गैडा, हात्तीको आक्रमणमा परि मर्ने घटनामा वृद्धि भएका छन् । देश सङ्घीय संरचनामा गएपछि तीन तहका सरकारहरूबीच समन्वय र सहकार्य हुन नसक्दा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी संरक्षण कार्यलाई सहज र द्वन्द्वमुक्त बनाउन कार्यान्वयनमा ल्याएको मध्यवर्ती क्षेत्र व्यवस्थापनको कार्यक्रम प्रभावहीन बन्दै गएको छ ।
खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरूले गरिब नेपाली र नेपाली भूमिलाई प्रयोग गर्दै वन्यजन्तुको तस्कर गर्दै आएको छ । विशेषगरी चीनमा वन्यजन्तुका आखेटोपहारबाट पुरानो पद्धतिको औषधि बनाउने, उपहार दिने चलन अझै व्याप्त रहेकाले अधिकांश आखेटोपहारको गन्तव्य चीन रहेको छ । वन्यजन्तुको छाला ओढ्नाले सामाजको प्रतिष्ठित व्यक्ति ठहरिने प्रचलन चीनका केही समुदायमा अझै छ । चीन, थाइल्यान्डमा बाघको हड्डीको सुप खाने प्रचलन रहेकाले बाघका हड्डीहरू समेत तस्करी हुने गरेको छ ।
तराई भूपरिधि कार्यक्रमको अवधारणामा लालझाडी–दुधुवा जैविक मार्गले दुवै मुलुकका संरक्षित वन्यजन्तुलाई ओहोरदोहोरमा सहयोग पु–याउने उद्देश्यले अन्तर्राष्ट्रिय जैविक मार्गको अवधारणा अघि सारेको हो । यस मार्गबाट हात्ती, पाटेबाघ, चितुवा, मृग, चित्तल ओहोरदोहोर गर्छन् ।
अन्तर्राष्ट्रिय जैविक मार्गमा वन्यजन्तुलाई नेपाल–भारत आउजाउ गर्न सहज होस् र मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गराइएको छ ।
पछिल्लो समयमा नेपालतर्फको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुलाई आवागमन सहज होस् भनेर कैलालीको मोहना–लालझाडी करिडोर (अन्तर्राष्ट्रिय जैविक मार्ग) मा बसोबास गर्ने स्थानीयलाई सचेत बनाउन थालिएको छ । साथै भएका पानीको मुहान संरक्षण तथा वन क्षेत्रभित्र नेपाल र भारतले तलाउ निर्माण गरेको छ ।
लालझाडी पुरानो र घना बोटबिरूवा भएको ठूलो जंगल हो । यहाँ वन्यजन्तुको बासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रशस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ । त्यही भएर पनि भारतको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु मोहना हुँदै लालझाडी आउजाउ गर्ने गर्छन् ।
तपाईको प्रतिक्रिया