काठमाडौं, २२ फागुन । नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूलाई १३२ केभी प्रसारणलाइनबाट विद्युत् आपूर्ति लिन आह्वान गरेको छ ।
उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानअन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगहरूलाई १३२ केभीबाट विद्युत् आपूर्ति दिने प्राधिकरणले जनाएको छ ।
त्यस क्षेत्रका उद्योगहरूले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ ।
उद्योगहरूले आफ्नो परिसरमा सबस्टेसन भने आफैँले निर्माण गर्नुपर्नेछ । महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेसन निर्माण महँगो नपर्ने जनाइएको छ ।
प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा पाँच वर्षभित्रमा दुई हजार मेगावाट विद्युत् खपत हुने गरी पूर्वाधार बनाउन बनाउन पहल सुरु गरेको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायत क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरणलाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरी ४०० र १३२ केभी प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्थालगायत विषयमा जानकारी लिएको छ ।
कार्यकारी निर्देशक घिसिङले बारा–पर्सा क्षेत्र आगामी दिनमा ठूलो औद्योगिक हब बन्ने सम्भावना देखिएकोले उच्च क्षमताका प्रसारण तथा वितरणलाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको बताए ।
तपाईको प्रतिक्रिया