जनकपुरधाम, २३ फागुन । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले होलीपछि किसान आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
जनमतको केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले चारबुँदे निर्णय गर्दै चैत ५ गतेपछि किसान आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय गरेको हो ।
किसान आन्दोलनका कार्यक्रमहरू फागुन २० गतेसम्म रहेकोमा सो कार्यक्रमहरूलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण नेता, कार्यकर्ता तथा जनतालाई धन्यवाद ज्ञापन गरेको छ ।
किसान आन्दोलनलाई निरन्तरता दिँदै चैत ५ गतेपछि (होली पर्वपछि) को लागि आन्दोलनका थप कार्यक्रमहरू घोषणा गरिने जनाइएको छ । साथै, सो आन्दोलनको लागि तयार रहन सम्पूर्ण जिल्ला तथा स्थानीय समितिहरूलाई अनुरोध गरेको छ ।
यसैगरी, उम्मेदबारको सिफारिश गर्ने अन्तिम मिति फागुन ३० गतेसम्म बढाउने निर्णय गरेको छ । सो पश्चात् प्राप्त सिफारिशहरू स्वीकार भए नभएको दाबी गर्न पाइने छैन ।
यस्तै, जनमत माटो यात्रालाई बाँकी रहेका जिल्लाहरूमा निरन्तरता दिइनेछ । सोको लागि आवश्यक छलफल सम्बन्धित जिल्लासँग गरेर कार्यक्रम तोकिनेछ ।
त्यसैगरी, निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रमहरू स्थानीय तहसम्मै चलाउने र सोको जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइनेछ ।
जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूले जिम्मेबारी बाँडफाँड गरेर सो कार्य पूरा गर्ने जनमतका महासचिव चन्दन सिंहले जनाएका छन् ।
तपाईको प्रतिक्रिया