मन्त्री साहद्वारा सोलार प्यानल सेट वितरण

समाचार

सप्तरी, २४ फागुन । नेपालकै एक मात्र टापु अर्थात आईल्याण्डको रुपमा रहेको हनुमानगर कंकालिनी नगरपालिका वडा नं १३ गोवरगाढाका ५८ धरधुरी परिवारलाई सोलार प्यानल सेट वितरण गरिएको छ ।

मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवल किशोर साहले मंगलबार आफ्नो संसदीय कोषबाट अँध्यांरोमा बस्न बाध्य परिवारजनमा सोलार प्यानल सेट वितरण गर्नुका साथै ६ थान सोलार सेट जडान पनि गराएका छन् ।

बाढीले विद्युतको प्रसारण लाइन अवरुद्ध बनाएपछि त्यहाँका स्थानीयहरु अँध्यारोमा बस्न बाध्य रहेको थियो ।

वितरण कार्यक्रमको सम्बोधन गर्दै मन्त्री साहले ठूल–ठूला शहरहरु नदीका किनारमा नै रहेको भन्दै गोबरगाढालाई पनि शहर बनाउन आफ्नो प्रयास रहेको बताए ।

वितरित सोलारले बतीका साथै मोबाइल चार्जमा समेत मद्दत पुग्नेछ भने अवरुद्घ विद्युतको संचालन पनि छिटै हुने मन्त्री साहले आश्वासन पनि दिए ।

कार्यक्रममा जसपा प्रदेश समिति सदस्य गुडडु सिंह, जसपा जिल्ला उपसचिव रामचन्द्र साह, जसपा नेता ईन्द्रदेव यादव, राधादेवी यादवलगायतको उपस्थित रहेको थियो ।

मन्त्री साह डुंगा र ट्रेक्टरको सहयोगमा गोवरगाढा आफै पुगेर सोलार सामग्री वितरण गरेका थिए । — कमल मण्डल

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ