सैनामैनामा मेयर कप फुटबल प्रतियोगिता हुँदै

समाचार

रुपन्देही, २६ फागुन । सैनामैनामा चौथो सैनामैना मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७८ को तयारी पुरा भएको छ ।

सैनामैना खेलकुद विकास समितिको संरक्षकत्व, कन्दरा युवा क्लबको आयोजना, फगको मुख्य प्रायोजन, कन्चन सामुदायिक वन उपभोक्ता समुहको प्रायोजन तथा लालि र पानबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सहप्रायोजनमा फागुन २८ गतेबाट सैनामैना १० सालझण्डीको पानबारीमा रहेको खेल मैदानमा खेल हुने छ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरि समितिका कार्यबाहक अध्यक्ष अम्मर लम्सालले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।

यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने संयोजक यम बहादुर श्रीषले बताए। सर्वोत्कृष्ट खेलाडीलाई माउन्टेन साईकल, १० लाख बराबरको एकवर्षको बिमा समेत गरिएको छ भने उत्कृष्ट गोलकिपर, हाईस्कोरर, डिफेन्स, फर्वारड गरि ५ हजार ५ सय रुपैया र कप, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।

उद्घाटन खेल मुर्गिया एफसी र कन्चन ११ का बिचमा हुने प्रतियोगिता आयोजना क्लबका अध्यक्ष तुल्सी पौडेलले बताए । चैत १० गतेसम्म संचालन हुने प्रतियोगितामा २० लाख खर्च अनुमान रहेको उनले बताए ।

१२ टिमको सहभागिता रहने समितिका कार्यबाहक अध्यक्ष अम्मर लम्सालले बताए । नगरपालिकाका उपप्रमुख बिना रानाले खेलकुदमार्फत युवाहरुलाई एकतावद्घ गराउने उदेश्य सहित कार्यक्रम गरिएको बताईन ।

युवा प्रतिभालाई खेलप्रतियोगिताबाट प्रोत्साहन मिल्ने भन्दै उनले नगरमा खेल पुर्वाधारमा समेत धेरै कामहरु भैरहेको बताईन । प्रतियोगिता आयोजनाका लागि पालिकाबाट ७ लाख २५ हजार रुपैया सहयोग भएको उनले बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ