वीरगन्ज, ४ चैत । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टी (जसपा)मा आफुमाथि दुव्र्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् ।
मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुव्र्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन् ।
विगतमा आफूले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनको भनाई छ । आफूलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफुले नयाँ पार्टी रोज्नु परेको उनले स्पष्ट पारेका छन् ।
मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उनको विकासप्रतिको चाहानाबाट प्रेरित भएका कारण एमाले रोजेको बताएका छन् । आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको बताएका छन् ।
उनले एमालेमा कुनै पद पाउनका लागि शर्त गरेर नगएको समेत बताएका छन् । पार्टीले आफ्नो काम र प्रस्तुती हेरेर जुन जिम्मेवारी दिन्छ सोही जिम्मेवारी लिने उनले बताए ।
उनले आगामी निर्वाचनमा पार्टीले मेयरको टिकट दिएर मेयर बन्न तयार रहेको स्पष्ट पारेका छन्। मेयरको टिकट नदिएर अन्य जिम्मेवारी दिएपनि स्वीकार गर्ने सरावगीले बताएका छन् ।
तपाईको प्रतिक्रिया