रेल्वे अध्यादेश जारी, जनकपुर–जयनगर रेल उद्घाटनको तयारी

समाचार

काठमाडौं, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश, २०७८ जारी गरेसँग जनकपुर–जयनगर रेल सेवा सञ्चालनको तयारी भइरहेको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेकी थिइन् ।

यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।

संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलवार पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको छ ।

गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म यात्रुविहीन रेल दैनिक एक पटक सञ्चालन भइरहेकामा अहिले एक महिनामा १५ दिन मात्र चल्न थालेको छ ।

जनकपुर–कुर्था–जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु रु ७० र वातानुकुलित सिटमा रु ३०० भाडा निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ