नेपालगन्ज, ९ चैत । आसन्न स्थानीय चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग तीनवटा विकल्प रहेको नेता केशव झाले बताएका छन् ।
बुधबार लुम्बिनी प्रदेशको नेपालगन्जमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को “१६औं वार्षिक साधारण सभा र सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन”मा नेता झाले सो कुरा बताएका हुन् ।
उनले स्थानीय तहमा चुनावी गठवंधनको आवश्यकता नरहेको बताउँदै भने, ‘गठबन्धन राजनीतिले मुलुकमा अस्थिरता निम्त्याउँछ तर यदि सत्ता गठवन्धन जारी रहने हो भने हामी सामु तीन विकल्प छन् ।’
‘१. एक्लै चुनावमा भाग लिने, २. एमालेसँग चुनावी तालमेल गर्ने र ३. सत्ता गठबन्धनले हाम्रा राजनीतिक मागमुद्दा पूरा गर्छन् भने हामी सत्ता गठबन्धनसँगै तालमेल गर्ने’ नेता झाले यी तीन विकल्प राखेका छन् ।
चुनावी गठबन्धनबारे एमालेसँग लोसपाको औपचारिक वा अनौपचारिक कुनै प्रकारको संवाद आजसम्म नभएको प्रष्ट्याउँदै यसबीचमा सरकारसँग दुई तीन राउन्ड छलफल भएको जानकारी दिए ।
निर्धारित समयसीमाभित्र स्थानीय तहको निर्वाचन हुने कुरामा अझै आशंकाहरु रहेको जिकिर गर्दै उनले भने, ‘स्थानीय तहको चुनाव यद्यपि निर्दलिय हुनुपर्ने हो किनकि यो एउटा विकासे इकाई हो तर कानुनी वयवस्था त्यस्तो छैन ।’
अकोराबको वार्षिक साधारणसभा र सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको पूर्ण सफलताको कामना गर्दै नेता झाले सामुदायिक रेडियोहरुको छाता संगठन अकोराब सबै सामुदायिक रेडियोहरुको बृहत्तर हक हितमा उपयोगी होस् भन्ने धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया