जनकपुरधाम, ९ चैत्र । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारबाट प्रदेश र स्थानीय सरकारका लागि हुन लागेको ओ एण्ड एममा दृष्टि विशेषज्ञहरुका लागी नयाँ दरबन्दी सिर्जना गर्ने बताएका छन् ।
नेपाल दृष्टि विशेषज्ञ संघ मधेश प्रदेश समितिद्वारा विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानव जीवनको लागि अति महत्वपूर्ण आखाँ विशेषज्ञ सेवाको सरकारी अस्पतालमा शुरुदेखि नै आभाव देखिएकोले नयाँ ओएण्डएममा नयाँ दरवन्दी सिर्जना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
आँखा जस्तो सम्बेदनशील क्षेत्रमा सरकारको ध्यान अहिलेसम्म नपुग्नु दुखद रहेको उल्लेख गर्दै उनले प्रदेश सरकार मातहतको जिल्लास्थित अस्पतालहरुका साथै स्थानीय तह मातहत रहेका अस्पतालहरुमा समेत नयाँ दरबन्दी सृजना गर्ने बताए ।
नेपालमा रहेको करिब १२ सय दृष्टि विशेषज्ञहरुमध्ये मधेश प्रदेशमै करिब ४ सय संख्या रहेको हुँदा उनीहरुको व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनको कथन थियो ।
संघका मधेश प्रदेश अध्यक्ष लाल मोहम्मदको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्र यादव, समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ, स्वास्थ्य निर्देशक विजय झा सहितको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया