मधेश प्रदेशमा दलहरु स्थानीय निर्वाचनमा केन्द्रित

समाचार

जनकपुरधाम, ११ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।

अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुग्न थालेका हुन् ।

सरकारले २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । सरकारको घोषणासँगै निर्धारित मितिमै चुनाव सम्पन्न गर्ने तयारीमा रहेको निर्वाचन आयोगले आगामी वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयनपत्र दर्तालगायत कार्यतालिका प्रकाशन गरिसकेको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा मुख्य राजनीतिक दलको ध्यान उम्मेदवार छनोटदेखि मतदाता रिझाउनमा केन्द्रित बनेको छ । उम्मेदवारको आकाङ्क्षीदेखि विभिन्न राजनीतिक दलका नेताहरू पुग्न थालेपछि सहरदेखि ग्रामीण क्षेत्रमा समेत चुनावी माहोल बन्दै गएको स्थानीयवासी बताउँछन् ।

अघिल्लो स्थानीय तह चुनावमा देखिएको कमी–कमजोरीलाई सच्याएर चुनावी परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने रणनीतिका साथ चुनाव केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए ।

प्रदेशभरिका सबै स्थानीय तहको वडावडामा टोल समिति गठन गर्नुका साथै पालिकास्तरीय, प्रदेशसभास्तरीय र सङ्घीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न गरिसकेको सभापति यादवले बताए ।

आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी पहिलो बनाउने विषयमा नेता कार्यकर्ताबीच नियमित छलफल भइरहेको उनको भनाइ छ ।

पार्टी विभाजनपश्चात मधेस प्रदेशमा खस्किएको आफ्नो साखलाई आगामी स्थानीय तह निर्वाचनमार्फत फर्काउने उद्देश्यका साथ एमालेले पनि मधेस प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा चुनावलक्षित कार्यक्रमलाई अगाडि बढाएको छ ।

एमाले नेता तथा मधेस प्रदेश सहइञ्चार्ज लीलानाथ श्रेष्ठले स्थानीय तहका टोल समिति गठनसँगै वडा वडामा टोल भेला तथा प्रशिक्षण दिने कार्यक्रम भइरहेको जानकारी दिए ।

स्थानीय तहका प्रत्येक वडामा पाँचदेखि १५ वटासम्म टोल कमिटी गठन गरिएको र भातृ संस्थाको भेला, प्रशिक्षण र कमिटी गठनको कार्य जारी रहेको उनले जानकारी दिए ।

त्यस्तै माओवादी केन्द्रले पार्टीको नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको छ । विभिन्न जिल्लामा पार्टीभित्र देखिएको विवादलाई हल गर्दै पार्टीलाई जिताउने गरी तयारीमा जुट्न गाउँ–गाउँमा नेता, कार्यकर्तालाई परिचालन गरिएको नेकपा (माओवादी केन्द्र)का मधेस प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीले बताए ।

त्यसैगरी अघिल्लो स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा बलियो पकड बनाएको जनता समाजवादी पार्टीले पनि आनो पुरानो साखलाई कायम राख्दै अझै थप केही स्थानीय तहमा जित निकाल्ने गरी तयारीमा जुटेको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्नेलगायत कार्य अगाडि बढाएको जसपा मधेस प्रदेशका सचिव दिनेशकुमार यादवले जानकारी दिए ।

अघिल्लो निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा आफ्नो पार्टीले बढी स्थानीय तह जित्ने दाबीसमेत उनको छ ।

पार्टी विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि चुनावी गतिविधि अघि बढाएको छ । पार्टीका प्रदेश सचिव सुधीरकुमार साहका अनुसार एकीकृत समाजवादीले पनि अहिले प्रदेशका अधिकांश स्थानीय तहमा सङ्गठन विस्तार र भेला गरिरहेको छ ।

मुलुक बिखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किएको डा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मधेस प्रदेशमा स्थानीय तह निर्वाचनलक्षित कार्यक्रम सुरु गरेको छ । जनमत पार्टीले सप्तरीबाट माटो यात्रामार्फत चुनावी अभियान सुरु गरेको छ । जनमत माटो यात्रामा सहभागी गाडीमा ‘अबकी बार, सीके सरकार’ नारासमेत देखिएको छ ।

यसैबीच स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाको लागि सूचना जारी भएपछि मधेश प्रदेशका जिल्लामा आवेदन भर्ने मधेसी युवाको भीड बढेको छ ।

म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराउन जिल्ला प्रहरी कार्यालय धनुषामा दैनिकरूपमा ठूलो भीड लाग्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा खटिने म्यादी प्रहरीको भर्नामा युवाको बढ्दो आकर्षणले पनि आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बुझ्न सकिन्छ ।

यसरी राजनीतिक दलहरूले चुनावलक्षित गतिविधिलाई तीव्रता दिएपछि निर्वाचनको माहोल बन्दै गएको स्थानीय बुद्धिजीवीको भनाइ छ । कूल नौ हजार ६६१ वर्ग किलोमिटर क्षेत्रफल रहेको मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १३६ स्थानीय तहमा एक हजार २७१ वडा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ