हेड काउण्टविरुद्ध महन्थ ठाकुरको दुई रिट ‘तामेली’मा राख्ने सर्वोच्चको निर्णय

समाचार

काठमाडौं, १२ चैत । सर्वोच्च अदालतले जसपाको आधिकारिकता छुट्याउन निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध महन्थ ठाकुरले दायर गरेको दुईवटा रिट निवेदन तामेलीमा राख्ने निर्णय गरेको छ ।

शुक्रबार न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलासले ठाकुरको रिट तामेलीमा पठाउन आदेश दिएको हो ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि गत साउनमा जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारिणी परिषदका बहुमत सदस्यको हस्ताक्षरसहित आधिकरताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

निवेदनपछि आयोगले पार्टीका दुवै पक्षलाई साउन ११ गते सनाखतका लागि बोलाइको थियो । कार्यकारिणी परिषदमा अल्पमतमा परेका ठाकुरले साउन ८ गते ‘हेड काउण्ट रोक्ने’ र साउन १५ गते ‘हेड काउण्ट बदर गर्न’ सर्वोच्चमा निवेदन दिएका थिए ।

साउन ११ गते कार्याकारिणी परिषदका ५१ मध्ये ३४ जना सदस्यले यादवको पक्षमा सनाखत गरेपछि त्यसैलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो ।

दुवै पक्षलाई राखेर छलफल गराउँदा सहमति नजुटेपछि आयोगले इजलास नै गठन गरेर आधिकारिकता विवाद छिनोफानो गर्ने प्रक्रिया सुरु गरेको थियो । साउन ३ गते र ७ गते भएको बहसपछि आयोगले सोमबार कार्यकारिणी परिषदका सदस्यको सनाखतबाट विवाद टुंग्याउने आदेश दिएको थियो ।

यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि पार्टीविहीन बनेका ठाकुर र राजेन्द्र महतो पक्षले राजनीतिक दल सम्बन्धित ऐन अध्यादेशमार्फत संशोधन गरेर २० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेश आएपछि भदौ ९ गते लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ