वीरगंज, १२ चैत । मधेश प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई एक कार्यक्रमबीच पर्यटकीय क्षेत्र घोषणा गरिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार निर्माण कार्य यसै वर्षभित्र शुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले पर्सा राष्ट्रिय निकुञ्जसँग भाथाधामको पर्यटकीय विकासको लागि आवश्यक सम्पूर्ण पुर्वाधार विकासको जिम्मा प्रदेश सरकारको रहेको उल्लेख गरे ।
कार्यक्रममा उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र बिकासको लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गरेका थिए ।
अलखदेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संञ्चार मन्त्री भरत साह, संघिय सांसद हरिनारायण रौनियार, प्रदेश सांसद मन्जुर अन्सारी, करिमा बेगम, भिमा यादव, जसपा प्रदेश सदस्य दिपक यादव, लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया