सर्लाही, १३ चैत । सर्लाहीको धन्कौल गाउँपालिका– ५ मा भीषण आगलागी भएको छ । आगलागीबाट १३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो धनकौल गाउँपालिका–५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । एउटा घरमा आंशिक क्षति पुगेको छ ।
दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सुरु भएको प्रत्यक्षदर्शीको भनाई छ । सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै एक घण्टा लागेको थियो ।
आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको धनकौल गाउँपालिका–५, का वडाध्यक्ष गजेन्द्र महतोले जानकारी दिए । वडाध्यक्ष महतोको अनुसार आगलागीबाट अधिकांश फुसको छानो भएका कच्ची घर जलेका छन् ।
आगलागीबाट स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको हो । आगलागीको यकिन कारण नखुले पनि खाना पकाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ ।
आगलागीबाट स्थानीय एक्कासि आगलागी भएको स्थानीयको भनाई छ । सोही समयमा तीव्र गतिमा हावा चलेको कारण आगलागी नियन्त्रणमा आउन केही ढिला भएको र धेरै क्षति हुन पुगेको वडाध्यक्ष महतोले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा र अन्नपात जलेर नष्ट भएको थियो ।
तपाईको प्रतिक्रिया