काठमाडौँ, चैत १४ । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।
तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलसहित शुक्रबार भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणासहित भारत जाने भएका हुन् ।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग शनिबार भेटवार्ता गर्ने छन् ।
भ्रमणको क्रममा दुई देशको सम्बन्ध विस्तार र सहकार्य थप मजबुत बनाउनेबारे छलफल हुने जनाइएको छ । प्रधामन्त्री देउवा चैत २० गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ । उनले भारतमा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम छ ।
मोदीसँग वार्ता गर्नुअघि प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । पछिल्लोपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।
यसअघि २५ देखि २७ पुससम्म प्रधानमन्त्री देउवा गुजरात जाने र त्यहीँ भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तय भएको थियो । भारत सरकारले आयोजना गरेको भाइब्रेन्ट गुजरात समिटमा प्रधानमन्त्री देउवा गुजरातमा बोलाइएका थिए । तर, कोरोना र ओमिक्रोन महामारी बढेसँगै समिट स्थगित भएपछि देउवाको भ्रमण पनि स्थगित भएको थियो । गुजरात सम्मेलन मे पहिलो साता (वैशाख तेस्रो साता) आयोजना गर्ने भारत सरकारको तयारी भए पनि निर्वाचन आचारसंहितालाई मध्यनजर राख्दै देउवाको भ्रमण त्यसअघि नै अघि सारिएको उच्च सरकारी स्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जयनगर–जनकपुर रेल्वेको भर्चुअल उद्घाटन हुने कार्यक्रम छ । यसबाहेक भारतले देशभरि एक सय ३७ स्वास्थ्य चौकी निर्माण गरिदिने, भक्तपुरमा हिन्दू मठ बनाउनेलगायतका सम्झौता हुने गरी तयारी भइरहेको छ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जहाज अवतरण गर्न भारतबाट एयर इन्ट्री रुटका लागि भारतलाई आग्रह गर्ने भएको छ । भारत सरकाले हिउँदयाम सकिएपछि नेपाललाई बढी हुने विद्युत् (सरप्लस इनर्जी) खरिद गर्ने घोषणा गरोस् भन्ने नेपालको चाहना छ ।
‘गुजरातमा यो विषय राख्ने तयारी गरिएको थियो, अबको भ्रमणमा पनि यसबारे नेपालले कुरा यसैगरी, भ्रमणमा नेपालको ल्याबबाट गुणस्तर प्रमाणित भएका नेपाली अदुवा, अलैँचीलगायतका उत्पादन भारतीय बजारमा प्रवेश सहज रूपमा दिन पनि नेपालले भारतलाई आग्रह गर्नेछ ।
प्रधानमन्त्री देउवा दिल्लीपछि भारतको वाराणसी पनि जाने भएका छन् । भारतीय प्रधानमन्त्री मोदीको संसदीय क्षेत्र रहेको वाराणसीमा प्रधानमन्त्री देउवाले काशी विश्वनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । देउवा २० चैतमा स्वदेश फर्किनेछन् ।
तपाईको प्रतिक्रिया