वीरगञ्ज, १४ चैत । सिर्सिया नदी र वीरगञ्जमा विद्यमान प्रदूषण नियन्त्रण गर्न माग गर्दै वीरगञ्ज महानगरपालिकामा धर्ना दिइएको छ । सरिसवा नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियानले वीरगञ्ज महानगरपालिकाको मूल गेटमा धर्ना दिएका हुन् ।
धर्नामा सहभागीहरुले ‘सिर्सिया नदी प्रदूषण मुक्त गरौं, नदी अतिक्रमण हुनबाट जोगाऔं, नदीमा फोहोर पानी मिसाउने कार्य बन्द गरौं ।’ लगायतको नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
‘स्वच्छ नदी प्रवित्र जल, स्वस्थ जीवन समृद्ध वीरगञ्ज’ लगातका नारासहित अभियानले पटक–पटक सिर्सिया नदी र वीरगञ्जलाई प्रदूषणमुक्त बनाउन दवाव दिँदै आएको छ ।
अभियन्ता वृजेश्वर प्रसाद चौधरीले भने, ‘सिर्सिया नदी उद्योग कलकारखाना र महानगरकै कारण प्रदूषित छ । नदीबाट दुर्गन्ध आउँछ, छेउछाउ बस्न धेरै कष्ट हुन्छ । ’
महानगरपालिकाले प्रदूषण गर्ने उधोगलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा पत्र काटिएर सहयोग समेत नगरेको उनको भनाई छ । जनताले तिरेको करबाट सेवा सुविधा लिने जनप्रतिनीधिले नदीलाई वेवास्ता गलत भएको उनको टिप्पणी छ ।
बारा– पर्सा औद्योगिक करिडोरमा सञ्चालित छाला उद्योगले छालाको टुक्रा, केमीकलयुक्त पानी प्रशोधन नगरी नदिमा खसाल्ने गरेका छन्, सिमेन्ट, छड उत्पादन गर्ने उद्योगले उद्योगबाट निस्कने छायी नदीमै फाल्ने गरेका छन् । जसका कारण वीरगञ्जको मध्य भाग भएर बग्ने सिर्सिया नदीमा कालो विषालु पानी बग्ने गरेको धर्नामा बसेका अभियन्ताहरु बताउँछन् ।
वीरगञ्जका उद्योगहरुबाट निस्कने धुवा, छायी, सिमेन्टको क्लिंकर, भुसको खरानी र बायु समेतकोप्रदूषणबाट सुखचैना, पटेल नगर, जगरनाथपुर, परवानीपुर, बारा जिल्लाको चैनपुर समेत गाउँका बासिन्दासमेत प्रभावित छन् ।
तपाईको प्रतिक्रिया