जनकपुरधाम, चैत १४ । धनुषामा एक ४ वर्षीया बालिकालाई अपहरण गरी बालिकाको परिवारसँग पन्ध्र लाख फिरौती माग्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको धनुषाधाम नगरपालिका–३ का २१ वर्षीय अरविन्द मुखिया, जनकपुरधाम उप–महानगपालिका–१ का २१ वर्षीय रविकुमार दास र कमला नगरपालिका–८ हाल जनकपुर उप–महानगरपालिका–१६ घरभाडा गरी बस्दै आएका २० वर्षीय अभिषेकचन्द्र दास रहेका छन् ।
सुरुमा प्रहरीले घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएको थियो । पछि अनुसन्धानको क्रममा चार जनाको अपहरणमा संलग्नता नदेखेपछि छाडेको र तीन जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।
बिहीबार जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौकस्थित आफ्नै घर अगाडी खेलिरहेको अवस्थामा कमला नगरपालिका–२ हाल जनकपुरधाम उपमहानगरपालिका–१६ बस्दै आएका धुव्रकुमार मण्डलकी ४ वर्षीया छोरी सृष्टि मण्डललाई उनीहरूले अपहरण गरी लगेका थिए । प्रहरीले खोजतलास गरी शुक्रबार धनुषाको विदेह नगरपालिका–८ बफैबाट बालिकालाई उद्धार गरी ल्याएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये अभिषेकचन्द्र दास बालिकाको परिवारसँगै एउटै घरमा भाडा लिइ बस्दै आएका थिए । उनीहरुले पूर्व योजना अनुसार बालिका विद्यालयबाट आएर बिहीबार साँझ ७ बजे घर अगाडी खेलिरहेको अवस्थामा ललाइफकाइ मोटरसाइकलमा बसाएर लगेका थिए । त्यसको विहानैदेखि बालिकाको परिवारलाई फोन गरी फिरौतीको लागि पन्ध्र लाख रुपैयाँ मागेका थिए ।
बालिकाको परिवारले प्रहरीलाई दिएको मोवाइल नम्बरलाई प्रविधिक विश्लेषणको आधारमा अभिषेकचन्द्र दासलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अपहरित बालिका धनुषाको विदेह नगरपालिकामा हुनसक्ने खुलेको थियो ।
तपाईको प्रतिक्रिया