जनकपुरधाम, १५ चैत । मधेशमा गर्मी बढ्दै गर्दा स्थानीय तहले सिरक र कम्बल बाँड्न सुरु गरेको छ ।
आसन्न स्थानीय निर्वाचन नजिकदै जाँदा जनता रिझाउन स्थानीय तहले जाडोमा बाँडनु पर्ने सिरक र कम्बm गर्मी सुरु भएपछि बाँड्न लागेका हुन ।
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले जाडो छल्न हिउँदमा चाहिने कम्बल अहिले बाँडेर मतदाता फकाउँदैछन् ।
गाउँपालिकाले मंगलबार पाँचवटा वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । यसअघि आठ लाख रुपैयाँ घुसकाण्डमा मुछिएका गाउँपालिका अध्यक्ष राउतले गर्मीका बेला जाडोमा चाहिने कम्बल बाँडिरहेको स्थानीयले बताएका छन् ।
अध्यक्ष राउत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीको छापापछि १९ चैत २०७७ मा ८ लाख रुपैयाँ घुस सडकमा फ्याँकेर भागेका थिए ।
तपाईको प्रतिक्रिया