काठमाडौं, १५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गतेदेखि भारतको तीनदिने भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।
चैत्र १८ गते अपरान्ह ४ बजे प्रधानमन्त्री देउवा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी सिधा दिल्लीको चाणक्यपूरीस्थित होटल मौर्य आईसीटी पुग्नेछन् । उनीसहित विशिष्ट पाहुनाहरुको बासको व्यवस्था त्यही होटलमा मिलाइएको छ ।
त्यही साँझ नेपाली दूतावासले आफ्नो प्राङगणमा प्रधानमन्त्री देउवाको स्वागत सम्मानमा रात्रीभोज कार्यक्रम राखेको छ । भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मा देउवाको भ्रमण तयारीका लागि सोमबार दिल्ली पुगेर कार्यभार सम्हालिसकेका छन् ।
भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवा पूर्ण रूपमा औपचारिक भेटवार्तामा व्यस्त हुनेछन् । शनिबार उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठक गर्नेछन् । देउवा र मोदीले संयुक्त रुपमा भर्चुअली जनकपुर–जयनगर रेल्वेको उद्घाटन गर्नेछन् । त्यही बेला जनकपुरमा रेल सञ्चालनमा ल्याउनुका साथै औपचारिक समारोह हुनेछ । जयनगर–जनकपुर–कुर्था–बिजलपुरा–बर्दिबास रेल खण्ड भारत सरकारको सहयोगमा निर्माण भएको छ ।
भारतीय समकक्षीसँग देउवाको विभिन्न विषयमा औपचारिक कुरकानी समेत हुनेछ । त्यसमा सीमा समस्या, बिजुली आयात÷निर्यात, मलको सहज आपूर्ति, व्यापार लगायतका विषय सम्भावित रहेको नेपाली दूतावासले उल्लेख गरेको छ । हैदरावाद हाउसमा मोदीले दिने लञ्चमा देउवाको सहभागिता रहनेछ । देउवाले भारतीय विदेश मन्त्री एस.जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट्ने छन् । सोही दिन उपराष्ट्रपति एम.वेंकय्य नायुडसँगको भेटघाट हुनेछ ।
शनिबार साँझ भारतीय उद्योगी व्यवापारीहरुसँगको अन्तरक्रिया उनी बसेकै होटल मौर्यमा राखिएको छ । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले उक्त कार्यक्रमको आयोजना गर्नेछ ।
तेस्रो दिन आइतबार बिहान देउवा उत्तर प्रदेशको बनारसका लागि प्रस्थान गर्नेछन् । बनारस प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र पनि हो । देउवाले त्यहाँ काशी विश्वनाथ मन्दिर, नेपाली पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । बनारसमा उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुका साथै लञ्च दिने कार्यक्रम छ । त्यहीदिन अपरान्ह प्रधानमन्त्री देउवा काठमाडौं फर्किनेछन् । नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली नियमित उडानबाटै प्रधानमन्त्री देउवा दिल्ली आउनेछन् ।
गत साउनमा पाँचौँ पटक प्रधानमन्त्री भएका देउवाको यस पटकको कार्यकालको यो पहिलो भारत भ्रमण हो । देउवाका साथमा उनकी पत्नी आरजु देउवासमेत रहनेछन् । भ्रमण टोलीमा पराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव रहने सम्भावना छ ।
तपाईको प्रतिक्रिया