वीरगञ्ज, १७ चैत । ३० वैशाख २०७९ का लागि घोषणा भएको स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशकै एक मात्र महानगरपालिका वीरगंजको प्रमुख पदमा कसले बाजी मार्ला ? देशभर कौतूहलको विषय बनेको छ ।
पछिल्लो समय भएका राजनीतिक घटनाक्रमका कारण पनि वीरगञ्ज अहिले सबैको नजरमा छ ।
प्रमुखको टिकटका लागि निर्वाचित प्रमुखले समेत पार्टी छाडेर जाने र प्रतिद्वन्द्वीले पनि २÷२ पटक पार्टी परिवर्तन गर्दा वीरगंजमा अहिले सबैको ध्यान केन्द्रित भएको हो ।
तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका विजयकुमार सरावगीले जसपा त्याग्दै नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।
जसपाका नेता, कार्यकर्ताबाट असहयोग भएको र आफ्नै पार्टीका सांसद् र मुख्यमन्त्री हुँदासमेत अपेक्षित साथ नपाएको गुनासो गर्दै आएका सरावगी नेपाली कांग्रेसमा जान खोजेका थि ए। तर, पर्सामा कांग्रेसका प्रभावशाली नेताहरूलाई उनले ‘कन्भिन्स’ गर्न सकेनन् ।
प्रमुखका रूपमा सरावगीले खासै उपलब्धिमूलक काम नगरेका कारण जनतामा अलोकप्रिय नेतालाई कांग्रेसले पनि पार्टीमा भित्र्याउन नचाहेको नेताहरूको भनाइ छ ।
नेकपा एमालेका नेता बसरुद्दिन अन्सारीकी भतिजीको विवाह भोजमा सहभागी हुन आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टीका–माला लगाएर सरावगी २८ फागुनमा एमाले प्रवेश गरेका थिए ।
नेकपा एमालेबाट आगामी निर्वाचनमा प्रमुखको टिकट पाउने आश्वासनसहित पार्टी प्रवेश गरेका सरावगी निर्वाचनको तयारीमा जुटिसकेका छन् ।
उनकै प्रतिद्वन्द्वी राजेशमान सिंह लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी जसपामा प्रवेश गरेर पर्सा–१ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवसँग हात मिलाएपछि सरावगीलाई गाह्रो हुने सङ्केत देखिएको छ ।
अघिल्लो निर्वाचनमा सरावगीलाई उनै प्रदीप यादवले साथ दिँदा नगर प्रमुखको बन्न सफल भए । वीरगंजमा सिंह प्रभावशाली नेताका रूपमा परिचित छन् । सिंह पनि सुरुमा एमालेमा जान खोजेका थिए तर उनीभन्दा पहिला प्रमुख सरावगीले पार्टी प्रवेश गरेपछि सिंहले जसपा रोजेका हुन् ।
गत निर्वाचनमा सिंह १२ हजारको हाराहारीमा मत ल्याएर तेस्रो भएका थिए। नेकपा एमाले र जसपाबाट सरावगी र सिंह लगभग प्रमुखको उम्मेदवारमा पक्कापक्की भएका छन् ।
अब नेपाली कांग्रेसबाट प्रमुखका आकाङ्क्षी धेरै भए पनि उम्मेदवारबारे स्पष्ट हुन अझै केही दिन कुर्नुको विकल्प छैन।यसअघिको निर्वाचनमा प्रमुखका उम्मेदवार रहेका पूर्व जिल्ला सभापति अजय द्विवेदी यस पटक पनि दोहोरिने चर्चा छ ।
द्विवेदीसँगै संविधानसभा सदस्य राजेन्द्रबहादुर आमात्य, पर्साका पूर्वउपसभापतिद्वय प्रकाश उपाध्याय, नरेन्द्र साह, विजय सर्राफ, प्रा. डा. दीपक शाक्य, सहाबुद्दीन आलम र कंचन झा पनि प्रमुखका आकाङ्क्षी छन् ।
यता, द्विवेदीले संघीय सांसद्मा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको उनी निकट नेताहरूले बताउने गरेका छन् । धेरै जना नेतृत्वको आकाङ्क्षी हुनुले पार्टीभित्र सशक्त नेता छन् भन्ने प्रमाणित हुने नेता नरेन्द्र साहको भनाइ छ ।
प्रमुखका लागि आफू सक्षम व्यक्ति भएको बताउँदै साहले काङ्ग्रेसबाट प्रमुखको टिकट पाउने दाबी गरे । कंचन झाले भने घुमाउरो तरिकाले प्रमुखको दाबेदारी गरेका छन् । स्पष्ट रूपमा प्रमुखको उम्मेदवार हुँ भन्न नसके पनि झाले आफू प्रमुखका लागि योग्य र सक्षम भएको जिकिर गरे । उनी भन्छन्, ‘अब पालो युवाको हो ।
१५ वर्षसम्म गरेको सामाजिक कामको मूल्याङ्कन गरेर सम्भावनाको शहरलाई समृद्ध बनाउन युवालाई नेतृत्व सुम्पिनुपर्छ ।’ जसपाबाट प्रमुखका लागि जिल्ला समन्वय समितिका सभापति नेकमहमद अन्सारीले तयारी गरिरहेका थिए ।
यद्यपि, राजेशमान सिंह लोसपा त्यागेर जसपामा प्रवेश गरेपछि अन्सारी पछाडि हटेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सांसद् प्रदीप यादवले जसपाबाट वीरगंजको प्रमुखका उम्मेदवार सिंह हुन् भनेर सार्वजनिक मञ्चबाटै घोषणा गरिसकेपछि अन्सारी पछाडि हट्न बाध्य भएका हुन् ।
जसपा वीरगंज महानगर समितिका अध्यक्ष ईश्वर यादवले पनि प्रमुखको आकाङ्क्षीका रूपमा आफूलाई अगाडि सारेका छन् । नेकपा (माओवादी केन्द्र)बाट भने यसअघि पनि उम्मेदवारी दिएका रहबर अन्सारीबाहेक अरू कसैको चर्चा चलेको छैन ।
विदेशमा अध्ययन गरेर आएका रहबरसँग युवापुस्ताले परिवर्तनको आशा गरे पनि उनले त्यस्तो केही गर्न सकेनन् । गत निर्वाचनमा प्रमुखमा र प्रदेशसभा सदस्यमा पराजित भएका रहबर भने यस पटक प्रमुखमा नलड्ने पक्षमा देखिन्छन् ।
उनले गत निर्वाचन जस्तै तयारी गरिरहेका छैनन्। युवाहरूलाई आफूतर्फ आकर्षित गर्न लोभलाग्दो भिडियो बनाउनेदेखि सामाजिक सञ्जालमा योजनाहरू सार्वजनिक गरिरहने उनी यस पटक शान्त छन् ।
फाटफुट कार्यक्रमबाहेक उनको उपस्थिति कहीँ पनि देखिँदैन । यसले गर्दा पनि उनि प्रमुख लड्ने मनशायमा नरहेको प्रष्ट हुन्छ । रहबर यस पटक प्रमुखभन्दा पनि प्रदेशसभा सदस्यको निर्वाचन लड्ने मुडमा छन् ।
हुनत यसअघिको निर्वाचनमा पनि उनी प्रदेशसभाको निर्वाचनमा लडेका थिए । तर, प्रमुख र प्रदेशसभा दुवैमा लडेर पराजित भएका रहबर यस पटक भने प्रदेशसभा लडेर जित्ने दाउमा छन्।
रहबरले सांसद् प्रदीप यादव र वीरगंजको प्रमुखका उम्मेदवार राजेशमान सिंहसँग छलफल पनि गरिरहेका छन् । रहबरले स्थानीय तहको निर्वाचनमा जसपालाई सहयोग गर्ने र जसपाले प्रदेशसभामा रहबरलाई सहयोग गर्ने विषयमा उनीहरूबीच ३ चरणमा छलफल भएको स्रोतको दाबी छ ।
लोसपाबाट पनि अधिवक्ता सुरेन्द्र कुर्मी र तत्कालीन वीरगंज उपमहानगरपालिकाका उपप्रमुख पुरुषोत्तम झाले प्रमुखमा आफ्नो दाबेदारी दिइरहेका छन् ।
अहिले कुर्मी र झा दुवैले आफू लोसपाबाट प्रमुखको उम्मेदवार बन्ने दाबी गरिरहेका छन् । तर, लोसपा एमालेसँग गठबन्धनमा जाने चर्चा पनि छ । गठबन्धन हुँदा एमालेले प्रमुख र लोसपाले उपप्रमुख पाउने निश्चित छ ।
तपाईको प्रतिक्रिया