पर्सा र सर्लाहीको गाउँपालिकामा अख्तियारको छापा

समाचार

वीरगन्ज, १७ चैत । पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

हेटौडास्थित आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी नायव उपरीक्षक गणेश बराल नेतृत्वमा खटिएको टोलीले मङगलबार दिउँसो गाउँपालिकाको कार्यालयमा पुगेर छापा मारेको हो ।

कोभिडले प्रभावित विपन्न परिवारका लागि राहत बाड्न गत पुसमा केन्द्र सरकारले पठाएको अनुदानको रकम, हिनामिना गरिएको खबर सार्वजनिक भएपछि त्यहि विषयलाइ लिएर अख्तियारले गाउँपालिकाको कार्यालयमा छापा मारेको हो ।

अनुदानको रकम हिनामिना गरि दुरुपयोग गरिएको विषयमै जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

यस्तै सर्लाहीको कौडेना गाउँपालिकामा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार छापा मारेको छ ।

कोरोना संक्रमितलाई राहत बाँडनका लागि आएको पैसा हिनामिना भएको उजुरी परेपछि अख्तियारको टोलीले गाउँपालिकामा छापा मारेको हो ।

७ सय ४२ कोरोना संक्रमित विपन्न परिवारलाई राहत बाँड्नका संघीय सरकारबाट ७४ लाख २० हजार रकम आएको थियो । त्यसबाट १२ लाख रुपैँया गाउँपालिकाले अन्य शीर्षकमा खर्च गरेको उजुरी अख्तियारमा परेको थियो ।

कोरोना संक्रमित परिवारलाई बाँड्नका लागि आएको राहतको रकम पालिकाले अन्यत्र खर्च गरेको उजुरी परेपछि छानबिन गर्नका लागि हामी गाउँपालिकामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी विजय कुमार शर्माले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ