विराटनगर, १७ चैत । सुनसरी मोरङ औद्यागिक करिडोरका उद्योगी÷व्यवसायीले अकस्मात विद्युत कटौती रोकी विद्युत नियमित गर्ने तर्फ राज्य जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन् ।
उनीहरुले पछिल्लो समय अघोषित रुपमा लोडसेडिङका कारण उद्योग सञ्चालनमा समस्या भएकाले विद्युत आपूर्तिलाई नियमति गर्न पनि सरकारसंँग आग्रह गरेका छन् ।
औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी एक सातायता विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पर्याप्त बिजुली दिन नसक्दा समस्या परेको बताएका हुन् ।
उनीहरुले विद्युत नियमित नहुँदा करिडोरका उद्योगहरुले आफना उत्पादनमा कटौती गर्न थालेको पनि बताएका छन् ।
उद्योगी व्यवसायीका अनुसार गएको मंगलबारदेखि नियमित रुपमा दैनिक १० देखि १२ घण्टासम्म लोडसेडिङ हुनथालेको जनाएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले भारतबाट विजुली खरिद गर्न नपाएको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म बिद्युत कटौती गरर राज्य गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताए ।
ऊर्जामन्त्री र विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले यसअघि अब नेपालमा लोडडिङ नहुने उद्घोष गदै उद्योगमा लगानी थप्न आग्रह गरेपनि फेरी लोडसेडिङ गरिनुले राज्य गैर जिम्मेवार रुपमा प्रस्तुत भएको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले गत मंगलबारयता अघोषित रुपमा लोडसेडिङ भइरहेका कारण उद्योगहरुले ६० प्रतिशत उत्पादन कटौती गर्नुपरेको गुनासो गरे । नियमित विद्युत आपूर्ति नहुँदा उद्योग सञ्चालनमा समस्या भएकाले उत्पादन कटौतीसँगै धेरै कामदारसमेत बेरोजगार हुने अवस्था आएको घिमिरेको भनाई छ ।
मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले गत मंगलबार ४ घण्टा बिजुली कटौती भएको थियो । तर त्यसपछि विजुली कटौती बढ्दै गएको छ । आइतबार राति १२ घण्टासम्म विजुली कटौती भोगेका व्यवसायीले सोमबार भने अपरान्ह ४ बजेदेखि मंगलबार विहान ६ बजेसम्म लोडसेडिङ भएको बताए ।
उनले उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउनु सरकारको दायित्वको भएको कुनै पनि बहानामा विद्युत कटौती नगर्न विद्युत प्राधिकरणलाई आग्रह समेत गरे ।
रिजालले लोडसेडिङको तालिका समेत सार्वजनिक नगरी प्राधिकरणले अघोषितरुपमा गरेको लोडसेडिङका कारण नेपाली उद्योगहरुले धरासायी हुने अवस्थामा पुग्ने बताए ।
उद्योगी÷व्यवसायीका अनुसार प्रदेश १ को एक मात्र सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा साना ठुला गरी करिव ६ सय उद्योग सञ्चालनमा रहेका छन् ।यी उद्योगमा हाल ५० हजार बढीले प्रत्यक्ष रोजनारी पाएका छन् ।
तपाईको प्रतिक्रिया