प्रधानमन्त्री देउवाको भारत भ्रमणबाट मधेशले गर्ने अपेक्षा

समाचार

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

भ्रमणका बेला उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

यस भ्रमणमा उनले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटवार्ता गर्ने छन् । भेट वार्तामा द्विपक्षीय हितका विविध विषयमा छलफल हुनेछ । यसअघि २४ पुसदेखि २८ पुससम्म गुजरातको गाँधीनगरमा हुने भनिएको ग्लोबल समिटमा जाने तयारी भएकोमा भारतमा कोरोना सङ्क्रमण दर बढेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएको थियो । प्रधानमन्त्री भएको करिब ९ महिनापश्चात् पहिलोपटक भारत भ्रमणमा निस्कन लाग्नुभएका देउवाका लागि यसअघि भारतसँग चिसिएको सम्बन्ध सुधार गर्ने अवसरका रूपमा पनि यसलाई लिइएको छ ।

मधेशको अपेक्षा

नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक, र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ प्रगाढ बनाएको छ । अर्को शब्दमा भन्नुपर्दा यी दुर्ई देशबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तर सम्बन्ध र सामाजिक–सांस्कृतिक आदानप्रदान आदिका कारण यो सम्बन्ध राज्यस्तरमा मात्रै सीमित नरही जनस्तरमा समेत गहिरो र फराकिलो छ ।

नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध कायम भएको सात दशक बितिसकेको छ तर यस लामो अवधिको सदुपयोग राष्ट्र र जनताको हितमा गर्न सकिएन, जबकि यस अवधिमा त संसारका धेरै देश विकसित पनि भइसके । भारतसित नेपालको सम्बन्ध कहिल्यै खराब भएन तर धेरै राम्रो पनि रहेन । यसअघिको ओली सरकारको पालामा यस द्विपक्षीय सम्बन्धमा केही चिसोपना अवश्य पनि आएको थियो तर बिस्तारै–बिस्तारै अब यो पहिलेकै र सकारात्मक दिशामा फर्किन थालेको छ । हुन पनि नेपाल–भारतबीच परस्पर अन्तरनिर्भरता, विश्वास तथा पारस्परिक लाभमा आधारित सम्बन्धको विकल्प छैन । नेपाल एवं भारतबीच कतिपय कुरामा समानता रहेको भए पनि आर्थिक प्रगतिको मामिलामा भारत नेपालभन्दा किन र कसरी अगाडि बढ्यो भन्ने विषयमा हामीले गम्भीर चिन्तन गर्नु आवश्यक छ । भारतसँग रहेको परम्परागत बहुआयामिक सम्बन्धलाई नेपाली जनताको हितमा सदुपयोग गर्न सक्नुपर्दछ । परस्पर विश्वासमा आधारित सम्बन्धले देशको भलो नै गर्नेछ ।

नेपालले भारतबाट तथा भारतले नेपालबाट अपेक्षा राख्नु स्वाभाविक हो । सन् १९५० को शान्ति एवं मैत्री सन्धिका सकारात्मक पक्षबारे कहिल्यै चर्चा हुँदैन । भारतीय सेनामा कार्यरत र त्यहाँबाट अवकाशप्राप्त गरिसकेका भूतपूर्व गोरखा सैनिकहरू, लाखौंको सङ्ख्यामा असंगठित रूपमा भारतका विभिन्न शहरहरूमा काम गरिरहेका नेपाली नागरिकहरू तथा दैनिक उपभोग्य वस्तुहरूको खरिद–बिक्रीलगायत विभिन्न प्रयोजनले भारत–नेपालबीच आउजाउ गर्ने नागरिकहरूको मनसायलाई बुझेर भरसक यस सम्बन्धको समीक्षा गर्ने काम भएको भए सत्यको नजिक पुग्न सकिन्थ्यो ।

दुई देशको सम्बन्धमा विभिन्न आयामहरु जोडिएका हुन्छन्, कुनै एउटै विषयलाई आधार बनाएर परराष्ट्र सम्बन्धको निर्धारण हुन सक्दैन । कहिलेकाहीँ केही लिने र दिने अवस्था पनि आउँछ । दक्षिण छिमेकी भारतसितको बहुआयामिक सम्बन्धलाई लेनदेनको आधारमा मात्र परिभाषित गर्न सकिँदैन ।

नेपाल र भारतबीच विद्युत् व्यापार एवं विद्युत् विकास सम्झौता भएपछि बिजुली खरिद–बिक्री सहज हुन थालेकोले अब नेपालले आफ्नो बढी उत्पादित बिजुलीलाई भारतमा निर्यात गर्न सक्छ । नेपाल–भारत द्विपक्षीय व्यापारमा नेपालको निर्यातलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा चर्चा हुने सम्भावना छ । साथै रक्सौल–काठमाडौं रेलमार्ग तथा तराईमा पूर्व–पश्चिम रेलमार्गको निर्माणको विषयमा पनि चर्चा हुन सक्ने देखिन्छ । नेपाल र भारतबीचको सिमाना क्षेत्रमा ९८ प्रतिशत ठाउँका वैज्ञानिक प्रविधिमार्पmत सिमाङ्कन भई सीमा स्तम्भ गाड्ने काम भइसकेको छ । नदीको कटानका कारण उत्पन्न समस्या र नयाँ नक्साले सिर्जित विषयलाई पनि ऐतिहासिक प्रमाण तथ्यको आधारमा समाधान गर्न सकिन्छ तर यसलाई सडक र सदनको विषय बनाइनुहुँदैन । यसबाहेक पनि दुई पक्षीय हितसित सम्बन्धित विभिन्न विषयमा छलफल र सहमति हुन सक्ने सम्भावना रहेको छ । प्रधानमन्त्री देउवाको यस भारत भ्रमणले हाम्रो द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने अपेक्षा गर्न सकिन्छ ।

यति हुँदा हुँदै पनि नेपाल–भारत सम्बन्धका निमित्त अत्यन्तै महत्वपूर्ण स्थान ओगटेको मधेश र मधेशीको सवालमा प्रष्टताको खाँचो छ । अवसरमा समावेशिता, विकासमा समानता र सम्बन्धमा सामिप्यताको चाहना राखेका मधेशमा बस्ने नेपालीहरुको मनोभावनालाई बुझ्न जरुरी छ । नेपाल र भारतको सीमा क्षेत्रमाब सोबास गरेका नागरिकहरू दैनिक जीवन यापनका लागि विशेष व्यवस्था होस्, सहुलियत प्राप्त होस् भन्ने चाहन्छन् । मधेशी जनताको भावनालाई समेट्ने हो भने बैंकिङ्ग, कृषि, विकास, ऊर्जा, सीमा, यातायातलगायत विषय महत्वपूर्ण छ ।
मधेशले नेपाल र भारतसम्बन्धको सेतुको रुपमा काम गरिरहेको छ । दुवै देशले मधेशलाइै बुझेन र मधेशको भावनालाई कदर गर्न सकेन भने दुई देशको समबन्धमा समस्या आउन सक्छ । तसर्थ निम्न बुँदाहरुमा दुवै देशका सरकार प्रमुखहरुले गम्भीरताका साथ ध्यान दिनुपर्छ ।

बैंकिङ्ग

दुवै देशका सीमा क्षेत्रका बैंकहरुमा खाताहरु सञ्चालन गरी वारी र पारीका स्थानीय नागरिकहरुलाई एउटा निश्चित रकमसम्मको सटही व्यवस्थापन गर्नुपर्ने । सीमावारी र पारीका नागरिकहरु एक अर्काका मुलुकमा खाता खोल्ने र न्यूनतम् आवश्यकताका कार्यहरु सम्पादन गर्न सक्ने । यस कार्यबाट कालाधन नियन्त्रण हुनुको साथै धर्म, संस्कृति, सम्बन्ध, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा बढोत्तरी हुनेछ । यसलाई कानून बमोजिम निगरानी गरि राख्द ानागरिकहरुका पैसा सुरक्षित हुनुको साथै घरमै विदेशी पैसा जम्मा गरि राख्नुपर्ने बाध्यताबाट मुक्ति पाइन्छ ।

कृषि

कृषि नै मधेशको मेरूदण्ड हो । मधेशमा कृषि क्षेत्र नै बढी रहेको छ । खुला सिमाना र दुवै क्षेत्रमा कृषकहरूकै स्थायी बसोबास रहेकोले भारत–नेपाल सम्बन्ध प्रगाढ गर्न मुख्यतया कृषक र कृषिमा विशेष ध्यान दिनु जरूरी छ ।

रासायनिक मलको सहज उपलब्धता, कृषि उपकरणमा शून्य भन्सार, दुई देशीय बीमा कम्पनीहरूमा विशेष प्राथमिकतामा कृषि वा पशु बीमाको व्यवस्था ।

– तटबन्ध, नहर, निर्माण, सतह सिँचाई र उर्जा व्यवस्थापन ।

– कृषि, शिक्षा, उन्नतबिऊ, रासायानिकमलमा सहजता

विकास

भारतले नेपालमा गर्ने लगानी र क्षेत्रको चयनमा समानता होस् भनी मधेशी अगुवाहरू चाहन्छन् । प्रशिक्षण, सेना भर्ना, छात्रवृत्ति, भ्रमणलगायत भौतिक र जनशक्तिको विकासमा दुवै समुदाय बीच समानता चाहन्छन् मधेशीहरू । छात्रवृत्ति, भ्रमण, प्रशिक्षण र अन्य अवसरहरुमा कर्मचारी पत्रकार, नेता, विद्यार्थी, कृषक र अन्य पेशावालहरूले पाउने अवसरमा समानता हुनुपर्ने । स्कुल, कलभर्ट, सडक, सिचाईं नहर निर्माणमा समानता र समन्यायको चाहना राखेका छन् मधेशीहरूले ।

हुलाकी सडक — हुलाकी सडक र महेन्द्र राजमार्गसँग जोडिएको लिंक रोडहरू तत्काल निर्माण हुनुपर्ने । यो कार्यमा तीव्रता रहेकोले मधेशीहरु उत्साहित छन् ।

रेल्वे – नेपाल–भारत सीमा र हुलाकी सडकको मध्यबाट रेल्वे लाइन निर्माण हुनुपर्ने । रेल्वे लाइनको निर्माण महेन्द्र राजमार्ग सँगसँगै र त्यसभन्दा उत्तर क्षेत्रबाट हुन थालेका कारण मधेशीहरू उत्साही छैनन् । महेन्द्र राजमार्गभन्दा उत्तर रेलमार्ग निर्माण गर्दा चुरे विनाश हुने र त्यसको प्रत्यक्ष असर मधेशीको जीवनमा पर्ने । हुलाकी सडक र अन्तर्राष्ट्रिय सीमाको मध्य भागबाट रेल्वे पथनिर्माण हुन सक्दाथप राम्रो हुन्थ्यो ।

रामायण सर्किट रेल्वे– जनकपुरधामलाई मुख्य केन्द्र बनाएर मधेशका अधिकतम् जिल्ला जिल्ला जोड्ने एउटा रेल्वे सञ्चालन गरिनु पर्ने । यसले सिंगो नेपाललाई जोड्नुको साथै नेपाल–भारत सम्बन्ध, संस्कृतिलाई समेत बलियो बनाउने काम गर्छ ।

ऊर्जा

उर्जा अभावका कारण कृषि, उद्योग, अन्य व्यवसाय तथा जीवनयापन गर्न अत्यन्तै कठिनाई भईरहेको छ । गर्मी प्रदेशका कारण अत्यन्तै कष्टप्रद जीवन व्यतित गर्न बाध्य मधेशीहरू ऊर्जा संकटबाट तत्काल मुक्ति चाहन्छन् । ऊर्जा अभावका कारण कलकारखाना, व्यापार, उद्योग र कृषि कार्य प्रभावित हुँदै आएको छ । सीमामा बसेका मधेशीका निमित्त ऊर्जा व्यवस्थापनले थप सद्भाव निर्माण गर्छ । ऊर्जा व्यवस्थापनले रोजगारी, आर्थिक सुदृढीकरण र शिक्षामा विशेष स्थान राखेकोले विद्युत् र अन्य वैकल्पिक ऊर्जाको उचित व्यवस्थापन होस् भनि मधेश चाहन्छ ।

सीमा

सीमा विवाद र व्यवस्थापनलगायतक ाविषयमा समिति गठन हुँदा स्थानीय व्यक्तिको उपस्थिति हुनुपर्छ । खुला सिमानालाई व्यवस्थित र आवगमनलाई आदरणीय बनाउन सीमा सुरक्षा बल तथा नेपाली सुरक्षाकर्मीहरूले सीमा क्षेत्रका नागरिकहरुसँग गर्ने व्यवहारमा सुधार हुनुपर्छ ।

यातायात

सीमा क्षेत्रका जनताहरू निश्चित दूरीसम्म यातायातका सवारीहरू निःशुल्क र निर्वाधरूपमा प्रयोग गर्न पाउने व्यवस्था हुनुपर्छ । धार्मिक, सा.स्कृतिक र शैक्षिक प्रयोजनका निमित्त निजि सवारी साधनहरू निश्चित दूरी र समय सीमाका लागि निःशुल्क आवागमन गर्न पाउने व्यवस्था हुनुपर्ने माग सीमा क्षेत्रका जनताहरूको रहेको छ ।

नेपाल–भारत सम्बन्धको सेतुको रुपमा रहेका सीमा क्षेत्रका नागरिकहरुलाई प्राथमिकताका साथ व्यवहार हुनुपर्छ ।

नेपालका पूर्वाधार विकासमा भारतले वार्षिक रूपमा अर्बौं लगानी गर्छन् । जसमध्ये मधेशमा कति लगानी भारतले गरेको छ भन्ने पनि प्रश्नहरु उठ्न थालेका छन् । नेपालीहरुको भारतसँगको सम्बन्ध राजनीतिक मात्र नभएर सामाजिक, सांस्कृतिक, पारिवारिक, धार्मिक सम्बन्ध रहेको छ । सीमा क्षेत्रमा बसोबास गर्ने अधिकांश जनताको पारिवारिक सम्बन्ध भारतमा रहेको छ । खुला सिमानाका कारण पनि मधेश र भारतको सम्बन्ध पौराणिक रहेको छ ।

नेपाल–भारत सीमा क्षेत्रका जनता के चाहन्छन्

  • नेपाल–भारत सीमा क्षेत्रक ाजनताले कम्तीमा ३२ हजार रूपियाँ बराबरको रोजमर्राका सामान खरिद गर्दा भन्सार नलाग्ने र स्थानीय बिलबिजक देखाएर सहज रूपमा ओसारपसार गर्न पाउने ।
  • कृषि, शिक्षा, धर्म र संस्कृति लगायतका प्रयोजनका निमित्त पाँच लाख नेपाली रूपियाँ बराबरको खर्च सीमा क्षेत्रका जनताले बिना भन्सार प्रयोग गर्न पाउने ।
  • मधेशमा रहेको भारतीय रूपियाँको अभाव तत्काल सहज र सुलभ हुनुपर्ने ।
  • नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ र दीर्घजीवी बनाउन अन्तरक्रियाहरुमा समेत बढोत्तरीको आवश्यकता छ ।
  • सीमा क्षेत्रका बैंकहरुमा वारिपारीका नागरिकहरुलाई खाता खोल्न सहुलित हुनुपर्ने ।
  • सीमा व्यवस्थापन हुनु पर्ने ।
  • लगानीमा सहजता हुनुपर्ने ।
  • रासायनिक मलको सहज उपलब्धता, कृषि उपकरणमा शून्य भन्सार, भारतीय बीमा कम्पनीहरुमा विशेष प्राथमिकतामा कृषि वा पशु बीमाको व्यवस्था ।
  • तटबन्ध, नहर, निर्माण, सतह सिंचाई र ऊर्जा व्यवस्थापन ।
  • हुलाकी सडक र महेन्द्र राजमागसँग जोडिएको लिंक रोडहरु तत्काल निर्माण हुनुपर्ने ।
  • रामायण सर्किट रेल्वे व्यवस्था ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ