जनकपुर–जयनगर रेल शनिबारबाट औपचारिक सञ्चालनमा आउँदै

समाचार

जनकपुरधाम, १८ चैत । कुर्था–जनकपुर–जयनगर रेल्वेको शनिबार औपचारिक उद्घाटन गरिने भएको छ । भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीबाट भर्चुअल रुपमा संयुक्त उद्घाटन गर्ने भएका छन् ।

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीबाटै संयुक्त भर्चुअल रुपमा रेलको उद्घाटन गर्ने तय भएको हो ।

उद्घाटनका लागि जनकपुरधाम रेल्वे स्टेशन र जयनगर रेल्वे स्टेशनमा प्रोजेक्टरसहित कार्यक्रम गरिने छ । जनकपुर रेल्वे स्टेशनमा नेपालबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग तथा पर्यटनमन्त्री सत्रुधन महतोलगायत सहभागी हुने छन् । यस्तै भारतबाट भारतीय दूतावासका डिसिएम नमगिया खम्पासहितको टोली जनकपुरधाम रेल्वे स्टेशन आउनेछ ।

उद्घाटनलगत्तै जयनगरबाट जनकपुरका लागि रेल गुड्नेछ । यो रेल प्रत्येक स्टेशनमा रोकिने छ । त्यस दिन यात्रुले निःशुल्क चढ्न पाउने र जनकपुर रेल्वे स्टेशनबाट चढेर मन्त्री यादवसहितको टोली कुर्था स्टेशन पुग्नेछन् ।त्यसपछि भने जनकपुर–जयनगर रेल नियमित सञ्चालन हुनेछ ।

२०७७ असोज २ गते भारतीय कोंकण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट इन्जिनसहित १० वटा बोगी खरिद गरिएको थियो । रेलले करिब १ हजार ३ सय देखि १ हजार ५ सय जनासम्म यात्रु बोक्न सक्छ ।

कुर्था–जयनगरको यात्रा गर्दा यातायात व्यवस्था कार्यालयले नै निर्धारण गरेअनुसार सामान्य सिटमा प्रति यात्रु ९० रूपैयाँ र एसी सिटमा ४ सय ५० रूपैयाँ भाडा तोकिएको छ। रेल सञ्चालनमा ५९ जना नेपाली र २६ जना भारतीय कर्मचारी संलग्न रहनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ