काठमाडौं, १८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ ।
देउवा सरकारलाई ‘परमादेशको सरकार’ भन्दै आलोचना गर्ने लोसपा मधेशको मुद्दा सम्बोधन भइरहेको जनाउँदै सरकारमा सहभागी हुन लागेको हो । लोसपा कम्तीमा ३ वटा मन्त्रालय लिएर सरकारमा जान लागेको हो ।
लोसपाले उठाउँदै आएका मुद्दाहरू सम्बोधन गर्ने प्रतिबद्धता आएपछि सरकारमा सहभागी हुनेबारे अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग सघन छलफल अगाडि बढाएका हुन ।
लोसपाले उठाउँदै आएका नागरिकतासम्बन्धी समस्या र सांसद रेशम चौधरीको रिहाइ गर्ने जस्ता विषयमा प्रधामनन्त्री लचिलो भएपछि लोसपा सरकारमा जाने ढोका खुलेको हो । तर, कहिले सरकारमा जाने भन्नेबारेमा बालुवाटारसँग थप कुराकानी अगाडि अहिले बढेको छैन ।
सरकारमा सहभागी हुने लगभग निश्चित भएपछि जिल्ला दौडाहामा रहेका सबै नेताहरू अहिले काठमाडौं आएका छन् । स्थानीय तहको चुनावको तयारीसँगै सरकारमा सहभागी हुने लगभग निश्चित जस्तै भएको लोसपा नेताहरुको भनाइ छ । लोसपा सम्भवतः शुक्रबार प्रधानमन्त्रीको भारत भ्रमण अघि सरकारमा सहभागी हुनेछ ।
एक नेताले भने, ‘मधेश मुद्दाको सम्बोधनको आश्वासनमा लोसपा सरकारमा जाँदै छ । त्यहीअनुसार पार्टीले ४ वटा मन्त्रालय माग गरेका छ । प्रधानमन्त्रीबाट २ वटा मन्त्रालय दिने कुरा आइरहेको छ तर कम्तीमा ३ वटा मन्त्रालय नपाएसम्म लोसपा सरकारमा जाँदैन ।’
सरकारले नागरिकता विवाद हल गर्नका लागि करिब १० दिन अगाडि नै एउटा टोली पनि गठन गरिसकेको छ, यसको अर्थ सरकार लोसपाको मुद्दाप्रति गम्भीर छ भन्ने हो । यही विश्वासका आधारमा लोसपा सरकारमा जाने तयारी गरेको हो ।
लोसपा लगभग ३ वटा मन्त्रालय लिएर सरकारमा जाने तयारीमा छ । अहिले खाली रहेका मन्त्रालयहरू रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै एउटा अर्को मन्त्रालय लोसपालाई दिने तयारी छ ।
सरकारसँग सहमति भए लोसपाबाट शरदसिंह भण्डारीको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने तयारीमा रहेको लोसपाका एक नेता बताउँछन् । भण्डारीसँगै सांसदहरू एकबाल अहम्मद शाह, अनिल झा वा उमाशंकर अरगरियामध्ये कोही १ जना सरकारमा जानेछन् ।
कुनै पनि दलसँग गठबन्धन गर्ने
लोसपाले चुनावी गठबन्धनका लागि आफूलाई खुला रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बुधबारबाट सुरु भएर बिहीबार सकिएको कार्यकारिणी समितिको बैठकले आवश्यकताअनुसार कुनै पनि दलसँग गठबन्धन गर्न सकिने निष्कर्ष निकालेको हो ।
बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले जुनसुकै समयमा पनि बैठक बस्नुपर्ने भएकाले राजधानी काठमाडौं चैत मसान्तसम्म नछाड्न कार्यकारिणी सदस्यहरूलाई निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया