५० सदस्यीय टोलीसहित प्रधानमन्त्री देउवा भारत प्रस्थान

समाचार

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणका निम्ति शुक्रबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्री गण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतले बिदाइ गर्नुभयो । त्यसअघि सरकार प्रमुख औपचारिक विदेश भ्रमणमा निस्कँदा सलामी अर्पण गर्ने परम्पराअनुरूप नेपाली सेनाको एक टोलीले प्रधानमन्त्री देउवालाई सलामी दिएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा.नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा, अर्थ सचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डे, स्वास्थ्य सचिव डा रोशन पोखरेल, कृषि सचिव गोविन्दप्रसाद शर्मा रहेका छन् ।

त्यसैगरी प्रधानमन्त्रीका निजी सचिव प्रकाश देउवा, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, निजी क्षेत्रका उद्यमी–व्यवसायी सङ्घ सङ्गठनका अध्यक्षसहित उच्च पदाधिकारी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका पदाधिकारी तथा सञ्चारकर्मी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ