काठमाडौं, १९ चैत । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता भएको हो ।
सो अवसरमा उनीहरूबीच बहुआयामिक नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचार विमर्श भएको प्रधानमन्त्री सचिवलायले जनाएको छ । साथै सचिवालयअनुसार उनीहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउने बारेमा पनि छलफल गरेका थिए ।
दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा आपसी हित र साझा चासोका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे विचार विमर्श गरेका हुन् ।
नेपाल र भारतबीचको शताब्दी औँ पुरानो मैत्री र सहयोगको विशेष सम्बन्धलाई थप प्रगाढ एवं सुमधुर बनाउने नवीकृत अवसरका रुपमा दुई देशका प्रधानमन्त्रीको यो भेटवार्तालाई लिइएको छ ।
बहुपक्षीय सहयोग र साझेदारी प्रवर्द्धनका निम्ति भेटवार्ता फलदायी रहेको बताइएको छ । त्यसअघि द्विपक्षीय भेटका लागि प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीलाई हैदरावाद हाउसमा स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया