काठमाडौं, १९ चैत । भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँग चार वटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।
रेल्वेसबन्धी प्राविधिक सहयोग सम्झौताअनुसार नेपालमा दक्ष रेल्वे जनशक्तिको उत्पादन, विकास र सशक्तीकरणका लागि भारतले सघाउने भएको छ ।
रेल्वे इन्जिनियरहरुको क्षमता विकास गर्न तालिम, रेल्वे इन्जिनियरिङ पढिरहेकालाई छात्रवृत्ति लगायतका विषय समेटेर समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपालमा रेल्वे प्रविधि बुझ्ने जनशक्तिको ठूलो अभाव छ । रेलमार्ग अध्ययन र प्राविधिक प्रतिवेदन विश्लेषणका लागि विषय विज्ञ छैनन् । सरकारले रेल्वे इन्जिनियरिङ पढ्न चीन पठाएका केही इन्जिनियर पनि फर्किएर सडक विभागमा काम गरिरहेका छन् ।
अहिलेको अभाव पूर्तिका लागि सरकारले ‘इन्टरनेसनल युनियन अफ रेल्वेज’बाट स्वतन्त्र विज्ञ मगाएर आफ्नो आवश्यकताअनुसार रेलमार्ग अध्ययन अघि बढाउन सक्ने विकल्प भएपनि त्यसतर्फ सरकारले कुनै पहल गरेको छैन ।
शनिबारबाट चलेको जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न पनि भारतबाट २६ जना प्राविधिक कर्मचारी ल्याइएको छ । ‘अब यस्तो अवस्था अन्त्य हुनुपर्छ भनेर प्रविधि र सिप हस्तान्तरणका लागि सहकार्य गर्न लागेका हौं,’ मन्त्रालय स्रोतले भन्यो ।
अन्तर्राष्ट्रिय सोलार एलाइन्स सम्झौताअनुसार अब नेपाल एलाइन्सको सदस्य भएको छ । यसअनुसार नेपालले सोलार प्रविधिको विकासमा भारतबाट महत्वपूर्ण प्राविधिक तथा आर्थिक सहयोग पाउनेछ ।
भारतीय आयल कर्पोरेसनसँग पेट्रोलियम पदार्थ खरिदका लागि भएको सम्झौता विस्तार गर्ने र नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले प्राविधिक क्षमता वृद्धिका लागि सघाउने गरी समझदारीहरु भएका छन् ।
तपाईको प्रतिक्रिया