सोलु करिडोर प्रसारणलाइन उद्घाटन

समाचार

काठमाडौं, १९ चैत । तीनदिने औपचारिक भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

शनिबार देउवा र मोदीले दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गरेका हुन् ।

नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा यसको निर्माण सकिएको हो ।

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारणलाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ ।

सोलु करिडोर प्रसारणलाइन आयोजना अन्तर्गत तिङ्लामा १३२÷३३ केभी, ३० एमभीए र ३३÷११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अहिले तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुन थालेको छ ।

प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३ को असोजबाट कार्यान्वयनमा आएको थियो ।

सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि यो महत्वपूर्ण प्रसारण आयोजना हो । यो लाइन बनेपछि बर्खाको समयम पूर्ण क्षमतामा चल्न नसकेको २३.५ मेगावाटको सोलु खोला र निर्माणाधीन जलविद्युत आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधान भएको छ ।

आयोजनाहरुको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा आपूर्ति दिन सकिन्छ भने बढी भएको विद्युत ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो भएको छ ।

२३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत आयोजनाको विद्युत् तिङ्ला सबस्टेसनमा जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ