काठमाडौं, २० चैत । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले देशमा हिन्दू राष्ट्रको लहर बढ्दै गइरहेको बताउँदै अब घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरेका छन् ।
संघीय राजधानी काठमाडौंमा आइतबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष पटेलले यस्तो दाबी गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे इंगित गर्दै अध्यक्ष पटेलले भने, ‘प्रधानमन्त्री देउवा र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्वनाथबीचको भेटघाट र काशी विश्वनाथमा गरिएको पुजाअर्जनाले ठूलो संकेत गरेको छ ।’
प्रधानमन्त्री देउवा एउटा चमत्कारिक व्यक्तित्व रहेको बताउँदै पटेलले भने, ‘देउवाजी जब–जब प्रधानमन्त्री बन्नुहुन्छ, तब–तब कुनै अनौठो प्रकारको कार्य भएको छ । तसर्थ, अब देशमा हिन्दू राष्ट्रको लहर बढेसँगै घोषणा हुने सम्भावना प्रवल छ ।’
धर्म–निरपेक्षताको आडमा देशका प्रमुख राजनीतिक दलले नाजायजÞ फाइदा उठाउने कार्य मात्र गरेको गुनासो गर्दै उनले सनातन धर्मावलम्बीहरु माथि दमन शोषण हुनु, आस्था केन्द्र माथि आक्रमण, गौ तस्करी र हत्या हुनु, लभजिहाद, धर्म परिवर्तन जस्ता कार्यले सम्पूर्ण कुरा प्रस्ट पारीसकेको बताए ।
सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने सेतु ‘हिन्दू राष्ट्र नेपाल’, मुलुकको एकता, समृद्धि, राष्ट्रियता, अंखडता र पहिचान हिन्दू राष्ट्रसँग जुडेको जिकिर गरेका छन् ।
पटेलले भने, ‘आज देशमा इसाई र इस्लामिक तत्व हावी हुँदै गएकोले यी दुई तत्वलाई नरोकिए मुलुक विखण्डन हुने खतरा रहेको छ । आज रहेक राजनीतिक दलभित्र हिन्दू राष्ट्रको बहस हुनु, हिन्दू राष्ट्रको कार्यक्रममा उत्साहपूर्वक सहभागिता हुनु, देशभरि चर्चा परिचर्चा हुनु, विश्वभरिका सनातन धर्म मान्ने सम्पूर्णको सुभेच्छा बढ्नुसँगै शहरदेखि गाउँसम्मका नेपाली दाजुभाइ र दिदिबहिनी जागरूक हुनु हिन्दू राष्ट्र नेपालको लहर पैदा भएको संकेत गर्दछ ।’
सच्चा नेपाली हिन्दू राष्ट्रको पक्षमा रहेको बताउँदै विदेशीका एजेन्ट तथा राष्ट्रघाती मात्र हिन्दू राष्ट्रको विपक्षमा रहेका बताए ।
‘आजकल मुलुकमा विदेशीहरुको दलाली गर्ने नेताहरुको कारण मुलुकको राष्ट्रियता खतरामा रहेको छ । विश्वमा हिन्दू राष्ट्रबाटै नेपाल र नेपालीहरुको पहिचान रहेकोले हिन्दू राष्ट्र नेपाल भए मात्र देशको समृद्धि, एकता, अखंडता, विकास सम्भव हुनेछ,’ पटेलले भने ।
सामाजिक र धार्मिक कार्य गरी २०७२ साल देखी हिन्दू राष्ट्र नेपाल धोषणको लागी हिन्दू परिषद नेपालले संघर्ष गर्दै आएको र आज लाखौं नेपालीलाई जोड्न सफल भएको पटेलले बताए ।
तपाईको प्रतिक्रिया