हिरो अफ मधेशका लागि पाण्डेय, साह र अग्रवाल चयन

समाचार

काठमाडौं, २३ चैत । मधेशी पत्रकार समाज नेपालले आयोजना गर्न लागेको हिरो अफ मधेशका लागि संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेय, नेता रामकृपाल साह र समाजसेवी प्रमोद अग्रवाल चयन भएका छन् ।

मधेशी पत्रकार समाजले बुधबार वीरगन्जमा एक कार्यक्रम आयोजना गरी हिरो अफ मधेशको पदवी दिन लागेको हो ।

साथै, सो कार्यक्रममा मधेशका मेयर, उपमेयर तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुलाई समेत सो सम्मान दिइने समाजका अध्यक्ष मोहन सिंहले जनाएका छन ।

को हुन् रमन पाण्डेय

मधेशीको अधिकार तथा हिन्दी भाषालाई नेपालको राष्ट्रिय भाषासरह मान्यता दिइनुपर्ने अभियानी हुन् । उनले हिन्दीलाई राष्ट्रिय भाषासरह मान्यता नपाएसम्म नेपाली भाषा नबोल्ने अडानमा छन् ।

उनी मधेश आन्दोलनम पनि अहम् भूमिका निर्वाह गरेका हुन् । महोत्तरीको पिपरा निवासी रमन मधेशी अधिकारका संघर्षरत छन् ।

उनी नेपाल सद्भावना पार्टीको विद्यार्थी मञ्चका संस्थापक सदस्य समेत हुन् । ३० वर्ष पहिले काठमाडौंमा सद्भावना पार्टी कार्यक्रमको दौरान हिन्दीमा भाषण गरेको कारण गजेन्द्र नारायण सिंहसहित नेताहरुमाथि लाठीचार्ज गरी घाइते भएका थिए, जसमा रमन पनि घाइते भएका थिए ।

सोही दिनदेखि उनी नेपाली भाषा नबोल्ने र हिन्दीलाई राष्ट्रिय भाषासरह मान्यता दिलाइ छोड्ने कसम खाएका छन् । हाल उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय नेता हुन् ।

को हुन् प्रमोद अग्रवाल

समाजवादी प्रमोद कुमार अग्रवालको पनि मधेश र मधेशी आन्दोलनमा अग्रणी भूमिका रहँदै आएको छ । मधेश आन्दोलनमा घाइतेहरुका उनले औषधि वितरण गरेका थिए ।

घाइते आन्दोलनकारीहरुलाई एम्बुलेन्समा उपचार गराउनेदेखि आर्थिक सहयातासमेत गरेका थिए । उनी एउटा सफल व्यवसायीसमेत हुन् ।

व्यवसायका साथसाथै उनले समाज सेवामा समेत महत्वपूर्ण कार्यहरु गर्दै आएका छन् । उनी जनकपुरधाममा रहेको मारवाड़ी सेवा समितिका महासचिव पनि हुन् ।

को हुन्, रामकृपाल साह

रामकृपाल साह मधेश आन्दोलनका एक योद्धा हुन् । उनी जहिले पनि आन्दोलनको अग्रणी भूमिका देखिँदै आएका छन् । तर, उनको योगदानको कहिल्यै पनि कुनै दलले कदर गरेनन् ।

किशोरावस्थादेखि नै प्रथम तथा द्वितीय मधेश आन्दोलनमा आन्दोलनकारीहरुलाई भोजनका लागि बन्दोबस्त गरेका थिए । हाल उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता हुन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ