जनकपुरधाम, २३ चैत । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मधेश प्रदेशको कामकाजी भाषा छिट्टै घोषणा हुने बताएका छन् ।
मैथिली विकास कोषले आयोजना गरेको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले संविधान प्रदत अधिकार अनुरुप मधेश सरकारले प्रदेशको कामकाजी भाषाको घोषणा छिट्टै गर्न लागेको बताएका हुन् ।
प्रदेशको कामकाजी भाषा सम्बन्धि विधेयक निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले एक महिनाभित्र विधेयक प्रदेश सभामा दर्ता हुने र प्रदेश सभाबाट पारित भए लगतै मधेश प्रदेश आफ्नै भाषामा सरकारी कामकाज शुरु गर्ने बताए ।
मधेश सरकार प्रदेश भित्रका भाषा संस्कृतिको संरक्षण सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले मधेश भाषा साहित्य प्रज्ञा प्रतिष्ठान गठनको तैयारी अन्तिम चरणमा पुगेको बताए ।
मधेश प्रदेशका प्रमुख भाषाहरु मैथिली, भोजपुरी, बज्जिका लगायतका भाषा संस्कृतिको संरक्षण गठन गर्न लागेको प्रतिष्ठानले गर्नेमा आफु विश्वस्त रहेको उनको कथन थियो ।
कोषका अध्यक्ष जिवनाथ चौधरीको अध्यक्षता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, भाषा साहित्य क्षेत्रका प्रबुद्ध व्यक्तिहरुले शुुभकामना मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया