बालविवाह नियन्त्रण गर्न सचेतना आवश्यक

समाचार

विराटनगर, २४ चैत । बालविवाह नियन्त्रणका लागि सचेतनाको आवश्यकता रहेको विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बालविवाहविरुद्धको प्रादेशिक रणनीतिसम्बन्धी अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आर्थिक सशक्तिकरणसँगै लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेकोमा जोड दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी दाहालले बालविवाह नियन्त्रणका लागि रणनीतिक रूपमा कार्यान्वयन पक्षलाई ध्यान दिनु आवश्यक हुनेमा जोड दिए ।

कार्यक्रममा आन्तरिक मामिला मन्त्रालय प्रदेश १ का सचिव कालीप्रसाद पराजुलीले बालविवाह नियन्त्रणका लागि पुरातन सोचले अहं भूमिका खेल्ने गरेको बताए ।

बालविवाह नियन्त्रणका लागि कानुनी सचेतना आवश्यक भएको बताएका सचिव पराजुलीले गरिबी, अशिक्षा, कानुनी अज्ञानताको कारण चुनौतीपूर्ण देखिएको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले चालु वर्षमा बालविवाह नियन्त्रणको रणनीतिलाई अन्तिम रूप दिने जानकारी दिइन् ।

उनका अनुसार सो रणनीतिलाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजाने गरी मन्त्रालयले तयारी गरिरहेको छ । प्रदेश १ ले ३ वर्षभित्र प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्य र नीति राख्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ