नेपालगञ्ज, २५ चैत । शिलान्यास गरेको एक वर्ष बढी भइसक्दा पनि बाँकेको नौबस्तामा बनाउने भनेको औद्योगिक क्षेत्रको ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन । जसले गर्दा औद्योगिक क्षेत्र बन्छ कि बन्दैन भन्ने अन्योल कायमै छ ।
सरकारले चालु आर्थिक वर्षमा ७८ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेट परे पनि लामो समयसम्म ठेक्का प्रक्रिया अघि नबढ्दा त्यो बजेट के हुने हो भन्ने अन्योल थपिएको छ ।
२०७७ साल फागुन ११ गते नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो । ३३८ बिगाहमा औद्योगिक क्षेत्र प्रस्ताव गरिएको छ । त्यसमध्ये ७० विगाह जमिनमा सुकुम्बासी बस्ती रहेको छ । उक्त बस्तीले गर्दा औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन ।
सरकारले चासो नदिँदा औद्योगिक क्षेत्र निर्माण अलपत्र पर्ने सम्भावना बढेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण पुनले नौबस्ता औद्योगिक क्षेत्रको ठेक्का खोल्ने प्रक्रियामा रहेको बताए ।
नौबस्तामा औद्योगिक क्षेत्र बन्ने भनिएपछि यस क्षेत्रका उद्योगी व्यवसायी उत्साहित भएका थिए । करिब ३०० जनाले उद्योग स्थापना गर्न निवेदनसमेत दिइसकेका थिए । सरकारले नै काममा ढिलाइ गर्दा औद्योगिक क्षेत्र बन्नेमै शंका उत्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया