काठमाडौं, २५ चैत । स्थानीय तहको निर्वाचनको संघारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई कार्यकर्ता जोगाउन धौ धौ परेको छ । ठूला पार्टीबाट टिकट पाउने आश्वासन पाउने बित्तिकै लोसपा नेता तथा कार्यकर्ताहरु अर्को पार्टीमा जान थालेका छन् ।
यस बीचमा लोसपाका केही नेताहरुले लोसपाबाट निस्केर पुरानो तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) लाई सक्रिय बनाएका छन् ।
लोसपाका नेता राजेशमान सिंह र शिव पटेलले लोसपा छाडी अन्य पार्टीमा प्रवेश गरेका छन् । सिंह शुरुमा एमालेमा गए । तर उनी एमालेमा धेरै दिन बसेनन् ।
एमालेबाट जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । यस्तै लोसपाका अर्का कार्यकारिणी समितिका सदस्य राजकुमार लेखी चुनावको संघारमा एमालेमा प्रवेश गरेका छन् । यसैगरी रेशम चौधरीले नयाँ पार्टीको घोषणा गरेका छन् ।
लोसपाका कार्यकारिणी समितिका सदस्य विर्शेशचन्द लाल र विजयी सिंहले लोसपा छाडी तमलोपालाई सक्रिय बनाएका छन् ।
यता, जनता समाजवादी पार्टीले लोसपाका कार्यकर्ताहरु आफूतिर तान्ने तर लोसपासँग सहकार्य नगर्ने नीति बनाएको छ ।
जसपामा विवाद उत्पन्न भएपछि आयोगले गत साउन ११ गते दुवै पक्षका नेताहरुलाई सनाखत गर्न बोलाएको थियो । महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायतका नेताहरुले उपेन्द्र यादवको नेतृत्वमा सनाखत नगरेपछि विधिवत रुपमा पार्टी फुटेको थियो ।
त्यसपछि ठाकुर, महतो लगायतका नेताहरुले भदौ १ गते नयाँ पार्टी दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । त्यसको ९ दिनपछि भदौ ९ गते आयोगले लोसपालाई पार्टीको रुपमा मान्यता दिएको थियो । त्यसयता जसपा र लोसपाबीचको सम्बन्ध पानी बाराबारको अवस्थामा छ ।
तपाईको प्रतिक्रिया