वनस्पतिको संरक्षण गरेर मनग्य आम्दानी गर्न सकिन्छ : मुख्यमन्त्री राउत

समाचार

जनकपुरधाम, २९ चैत । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताएका छन् ।

२३औं वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधामस्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठूलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मनग्य आम्दानी गर्न सकिने बताएका हुन् ।

नेपालमा पाइने जडिबुटीहरुको माग विदेशमा समेत पर्याप्त मात्रामा रहेपनि संरक्षण हुन सक्दा त्यतिकै खेर गइरहेको उल्लेख गर्दै उनले प्रदेशको एकमात्र वनस्पति उद्यानको संरक्षण आवश्यक रहेको बताए ।

धनुषाधाम संरक्षित वनक्षेत्रसँग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पु¥याउने सम्भावना बोकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले उद्यान संघीय सरकार मातहत रहेपनि विकासमा प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव सहितका वक्ताहरुले वनस्पतिको उपयोगिताबारे प्रकाश पारेका थिए ।

धनुषाधाम वनस्पति उद्यानमा हाल २७६ प्रजातिका वनस्पतिहरु रहे्को जनाइएको छ । उक्त अवसरमा मुख्यमन्त्री राउतले पिपलको विरुवा रोपन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ