नेपालगन्ज, ३० चैत । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य मो.इस्तियाक राइले स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल जित्ने थुप्रै आधारहरु तयार भइसकेको दाबी गरेका छन् ।
डुडुवाको बनकट्टीमा बुधवार आयोजना गरिएको समाजवादी युवा संघ बाँकेको गाउँपालिकास्तरीय बृहत्त भेलालाई सम्बोधन गर्दै बाँके निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्ष निर्वाचित सांसद राईले यस पटक जनता समाजवादी पार्टीका उम्मेदवारहरु विजयी हुने थुप्रै आधारहरु तयार भएको बताएका हुन् ।
उनले भने, ‘म शहरी विकासमन्त्री भएपछि संसदीय क्षेत्रका लागि गरेको विकास निर्माण नै जनतासँग मत माग्ने ठूलो आधार रहेको छ ।’
उनले आफू डुडुवा क्षेत्रको धेरै विकासका कामहरु गराएकोले ती विकासका नामबाट नै जनतासँग मत माग्न उम्मेदवारहरुलाई आग्रह गरेका थिए ।
डुडुवा गाउँपालिकामा जसपाका उम्मेदवारलाई बिजयी गराएमा भूमिहीन र ऐलानी जग्गामा घर बनाएकालाई लालपुर्जा वितरण गरिने, फुसका घरलाई टीन वितरण गरिने, सडकहरु कालोपत्रे गरिने, शिक्षा र स्वास्थ्यका लागि विशेष योजना सञ्चालन गरिनुका साथै रोजगारी सृजना गर्न थुप्रै उद्योग कलकारखाना लगाउने वातावरण बनाउने समेत प्रतिवद्धतासमेत जनाएका हुन् ।
तपाईको प्रतिक्रिया