रोकिएका मालवाहक सवारी नेपाल भित्रिँदै

समाचार

विराटनगर, १ बैशाख । सीमापारी रोकिएका मालवस्तुसहितका मालवाहक सवारी नेपाल प्रवेश गर्न थालेका छन् । भारतबाट नेपालतर्फ निर्यात हुने मालवस्तुमा भारतको केन्द्रीय भन्सार विभागले नयाँ नियम लगाएपछि विराटनगर सीमापारि सयौं मालवाहक सवारी साधन रोकिएका थिए ।

रोकिएका मालवाहक सवारी मंगलबारदेखि नेपाल प्रवेश गर्न थालेको हो ।

औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतबाट नेपाल आउने मालवस्तु हतियार वा विष्फोटक पदार्थमा प्रयोग हुनसक्ने भन्दै कडाइ गरेपछि विराटनगरको सीमावर्ती भारतीय नाका जोगबनी क्षेत्रमा ३ सयभन्दा बढी मालवाहक सवारी रोकिएका थिए ।

सीमापारि रोकिएका मालवाहक सवारीसाधनहरु नेपाल आउन थालेका विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले जानकारी दिए ।

विभिन्न रसायनिक पदार्थ, भिटामिन तथा ओखतीहरू, उपचारमा प्रयोग गरिने धूलो, मेडिकल केमिकल्स, भ्याक्सिन, इन्सुलिन र पशु भ्याक्सिन लगायतका वस्तु लिएर आउँदै गरेका साधन भारतले रोकेको थियो ।

अध्यक्ष शर्माका अनुसार नयाँ भारतीय नियम लगाइएपछि विराटनगर भन्सारका एजेन्टहरू जोगबनी भन्सारका असिस्टेन्ट कमिस्नर अशोक दाससमक्ष निकासी–निर्यात सहजीकरणका लागि पुगेका थिए । एसी दासले भारतको केन्द्रीय भन्सार विभागबाटै आएको परिपत्रअनुसार मालवस्तुको निर्यातमा कडाइ गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ