नेपालगञ्ज, १ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले संघमा चुनाव लड्ने घोषणा गरिसकेका छन ्। उनी एमालेसँग तालमेलको प्रयासमा छन् ।
२०७४ को चुनावमा नेपालगञ्जको २३ वटा वडामध्ये तीन वटाको मात्रै वडाध्यक्ष जितेर पनि राप्रपाका महामन्त्री डा. राणाले मेयर जितेका थिए ।
नेपालगञ्जमा अहिले राप्रपा फुटको असर प्रष्ट देखिएको छ । नेपालगञ्जमा राप्रपाले जितेको तीन जना वडाध्यक्षमध्ये दुई जना कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालतिर लागेका छन् । केही दिनअघि कमल थापा नै नेपालगञ्ज आएर उनीहरूलाई टीका लगाए ।
राप्रपाका महामन्त्री डा. राणाकै सहरमा जनप्रतिनिधि राप्रपा नेपालमा गएपछि राप्रपा नेपालका कमल थापा हौसिएको देखिन्थ्यो । दुई जना वडाध्यक्ष नै राप्रपा नेपालतिर लागेपछि राप्रपाका महामन्त्री डा. राणालाई आगामी चुनावमा त्यसको असर पर्ने देखिन्छ ।
नेपालगञ्जमा यसपालि राप्रपाबाट मेयरमा को लड्ने हो भन्ने टुंगो छैन । चुनावी तालमेल भएन भने वडा नं. ४ का वडाध्यक्ष सफिक बेहनालाई अगाडि सार्न सकिने नेताहरू बताउँछन् ।
एमालेसँग तालमेल गर्ने र उपमेयरसहित केही वडाध्यक्ष लिने राप्रपा नेपालले सार्वजनिक गरिसकेको छ ।
नेपालगञ्जको दुई पटक मेयर भएका डा. राणाले उत्तराधिकारी जन्माउन सकेको देखिँदैन । उनी गठबन्धन गरेर एमालेलाई नगरको चाबी सुम्पिने तयारीमा देखिन्छन्, संघमा आफूलाई सघाउने सर्तमा ।
तपाईको प्रतिक्रिया