कपिलवस्तु, १ बैशाख । देशको अर्थतन्त्र धरासायी बन्दै गएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सुधारका लागि सरकारले बेलैमा सम्बन्धित सबै पक्षसँग छलफल गरेर समाधान खोज्नु पर्नेमा जोड दिएका हुन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको २०७९ सालको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा सहभागि उद्योगी व्यवसायीले ओरालो लागेको देशको अर्थतन्त्र सुधारका लागि सरकार तथा दलका नेताहरुले कुनै चासो र चिन्ता व्यक्त नगरेको बताए ।
संघका सल्लाहाकार पशुपति घिमिरेले मुलुकलाई आत्मनिर्भर बनाउन र आयात प्रतिस्थापन गर्न उत्पादन क्षेत्रमा सामुहिक लगानी गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
उद्योगी चन्द्रमान श्रेष्ठले नेपाल सरकारले निर्यात मुलक उद्योग सञ्चालनका लागि स्थापना गरेकोमा उद्योग मैत्री वातावरण नभएका कारण उद्योग सञ्चालन गरिरहेका उद्योगी समस्या रहेको बताए ।
कार्यक्रममा संघका सल्लाहकार नवराज श्रेष्ठ, उपाध्यक्ष हरिलाल पाण्डे, कृष्णप्रसाद शर्मा, महासचिव कमल कँडेल, कोषाध्यक्ष सुरज पगेनी लगायतले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको र निर्यातको कमजोर आधार र उच्च आयातका कारण व्यापार घाटा फराकिलो हुँदै गएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया