जनकपुरधाम, ३ बैशाख । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनमा मुलुक होमिसकेकाले निर्वाचन हुने र नहुने विषयमा तर्क वितर्क गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मिति दलहरूको सहमतिमा नै नेपाल सरकारले घोषणा गरेकाले निर्वाचन नहुनेमा विषयमा आशङ्का नगर्नका लागि सबैमा आग्रह गरेका हुन् ।
उनले निर्वाचन सम्बन्धी क्षेप्यास्त्र चलिसकेकाले यसलाई क्रमभङ्ग गर्न खोजेको खण्डमा दुर्घटना हुने बताउँदै आवधिक निर्वाचन लोकतन्त्रका लागि प्राण वायु भएको र यसप्रति संशय पैदा गर्नु ठिक नभएको बताए ।
उनले स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले गर्नका लागि निर्वाचन आयोग लागिपरेको बताउनुहुँदै स्थानीय तहको निर्वाचन लगतै प्रतिनिधिसभा तथा प्रदेशसभा एवम् राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव गराएर संविधान जारी भएको दोस्रो कार्यकालका लागि मुलुकको शासन व्यवस्था अगाडि बढ्ने पक्षमा आयोग रहेको बताए ।
तपाईको प्रतिक्रिया