स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा नराख्दा समस्या

समाचार

राकेश प्रसाद चौधरी, जलेश्वर, ४ बैशाख । महोत्तरी जिल्लाका पालिकाहरूले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा नराख्दा विभिन्न समस्या उत्पन्न हुन थालेका छन् ।

कोभिड–१९ विरुद्धको खोप मात्र नभई परिवार नियोजनका साधनहरूको प्रयोगमा समेत बेबास्ता हुने गरेको छ । पालिकाहरुमार्फत स्वास्थ्य संस्थामा परिवार नियोजनका साधनहरू समयमा आपूर्ती नहुने, आपूर्ती भएका साधनहरू दक्ष जनशक्तिको अभावमा सेवाग्राहीसम्म नपुग्ने गरेको पाइन्छ ।

नेपाल सरकारले परिवार नियोजनका साधन पिल्स, कण्डम, डिपो प्रोभेरा, इमप्लान्ट, आइयुसिडिसहितका साधन तथा सेवा निःशुल्क गरेका छ ।

महोत्तरी जिल्लाको १५ पालिकामध्ये अधिकांशमा परिवार नियोजनका साधनमध्ये इमप्लान्ट तथा आइयुसिडि लगाउने दक्ष जनशक्ति छैन । डिपो लगाउने सिरिन्जको समेत अभाव छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवले स्वास्थ्य सेवा प्रति कुनै सरकार जवाफदेही नरहेकोले समस्या उत्पन्न भएको बताए ।

हाल पिल्स र कण्डम बितरण तथा डिपो प्रोभेरा सुई लगाउने कार्य नियमित रहेको बताउँदै कोभिड१९ बिरुद्धको खोप लिन आउने उमेर पुगेका सेवाग्राहीलाई परिवार नियोजनको साधन प्रयोगबारे परामर्श दिने काम सँग सँगै बढाउन तयारी भइरहेको उनले जानकारी दिए ।

मेरी स्टोप्स, आड्रा नेपालसहितका गैरसरकारी संस्थाहरूले इमप्लान्ट, आइयुसिडिसहितको सेवा सोनमा, जलेश्वर लगायतका केही पालिकाहरूमा प्रदान गरेपनि निरन्तरता हुने गरेका छैन ।

स्थानीय पालिकाहरूले समेत विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गर्न सकिरहेको छैन । स्थानीयस्तरमा स्वास्थ्यकर्मीलाई बिभिन्न तालिमहरूबाट समेत बंचित गरिएको छ ।

रामगोपालपुर नगरपालिका स्वास्थ्य संयोजक अच्छेलाल साहले पालिकाहरूले भवन बनाउने कामलाई प्राथमिकतामा राखेर दक्ष जनशक्ति उत्पादन तथा ब्यबस्थापन, स्वास्थ्य कार्यक्रम संचालन र अन्य सरोकारवालासँग समन्वयको काममा बेबास्ता हुने गरेको आरोप लगाए ।

स्वास्थ्यमा दक्ष जनशक्तिको ब्यबस्थापन कसरी गर्नेबारे कुनै किसिमको राजनीतिक छलफल नहुँदा समस्या आउने गरेको बताए ।

तथ्यांक संकलन तथा ब्यबस्थापनमा समेत पालिकाहरू गंभिर नहुँदा विभिन्न योजना बनाउन समस्या हुने गर्दछ । जिल्लामा कोभिड१९ बिरुद्ध लगाइएका खोपको तथ्यांक समेत जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा आवधिक हुन सकेको छैन ।

त्यही परिवार नियोजन साधनको प्रयोग र सेवा उपभोग गर्नेहरूको तथ्यांक नहुँदा योजना बनाउने समस्या हुने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका परिवार नियोजन शाखा प्रमुख बिरेन्द्र तिवारीले जिल्लाभरिका पालिकास्तरीय स्वास्थ्य संयोजकसँग छलफल गरि एकीकृत परिवार नियोजन सेवाको जिल्ला स्तरीय माइक्रो प्लानिङ्ग प्रतिवेदन प्रदेश एवं संघीय सरोकारवाला निकायमा पठाएपछि समस्या समाधान हुनसक्ने बताए ।

महोत्तरीमा अझैसम्म ७७ प्रतिशतले मात्र कोभिड१९ बिरुद्धको खोप लिएका छन् । त्यही सातसय लक्ष्य लिइएकोमा ५ सय ५९ जना महिलाले मात्र स्थायी बन्ध्याकरण गराएकी थिइन् ।

जिल्ला स्वास्थ्य कार्यालयबाहेक जलेश्वर प्रादेशिक अस्पतालले समेत समय समयमा स्थायी बन्ध्याकरण शिविर संचालन गर्ने गर्छ । अस्पतालका प्रमुख डा. सतिश साहले स्थायी बन्ध्याकरण सेवा नियमित कार्यक्रम अन्तर्गत राख्न पहल गरिरहेको जानकारी दिए ।

यो कार्यक्रम नियमित भएपछि बन्ध्याकरण गराउन चाह्ने महिला वा पुरुषले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ